राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सिभिलतर्फको काम ढिलाइ हुँदा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका काम प्रभावित भएका छन्।
सिँचाइ विभागले हाइड्रो मेकानिकलतर्फ २०७८ मंसिरमा र इलेक्ट्रो मेकानिकलतर्फ २०७९ साउनमा चीनको झेजिङ ओरियन्ट इन्जिनियरिङ कम्पनीलाई ठेक्का दिएको थियो। हाइड्रो मेकानिकल कामका लागि २ अर्ब १३ करोड रुपैयाँ र इलेक्ट्रो मेकानिकल कामका लागि ३ अर्ब २८ करोड रुपैयाँमा सम्झौता भएको थियो।
ठेकेदार कम्पनीले आवश्यक उपकरण उत्पादन तथा आपूर्तिको काम अघि बढाए पनि सिभिल संरचना तयार नभएकाले जडानलगायतका मुख्य काम सुरु गर्न सकेको छैन। सिभिलतर्फको काम पटक–पटक ढिलाइ हुँदा आयोजनाको समग्र निर्माण तालिका प्रभावित बनेको छ।
भेरी–बबई डाइभर्सन आयोजना अन्तर–बेसिन पानी स्थानान्तरण गर्ने नेपालको पहिलो ठुलो आयोजना हो। यसले बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने तथा जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।
आयोजनाको सिभिलतर्फको काममा ढिलाइ भएपछि हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण जडानको समयसमेत पछाडि धकेलिएको छ, जसले आयोजना सम्पन्न हुने समय थप अनिश्चित बनेको छ।