अवैध रूपमा १६ वर्षीया नाबालिगको डिम्ब कारोबारमा संलग्न वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं टेस्ट–ट्युब बेबी (आइभिएफ) विशेषज्ञ डा. नूतन शर्मालाई प्रहरीमा हाजिर भएलगत्तै सरकारी वकिलकहाँ पुर्याएर सोही दिन बयानसमेत सकेर हाजिरजमानीमा रिहा गरिएको छ । प्रहरीका अनुसार डा. नूतन बिहीबार (२१ साउन) जिल्ला प्रहरी परिसर ललितपुरमा हाजिर भएकी थिइन् । लगत्तै जिल्ला सरकारी वकिल कार्यालय लगिएकोमा तत्कालै बयान सकाएर हाजिरजमानीमा छाड्ने अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका न्यायाधिवक्ता गणेश पौडेलले डा. नूतन हाजिरजमानीमा छुटेको बताए । ‘डिम्ब कारोबारमा संलग्न डा. नूतन प्रहरी कार्यालयमा आफैँ हाजिर भएकी रहिछन् । उनलाई बयानका लागि प्रहरीले हामीकहाँ लिएर आयो । बयान लिएर उनलाई हाजिरजमानीमा छाडिएको छ,’ उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी नगरेकाले हाजिरजमानीमा छाड्ने निर्णय भएको हो ।’
वकिल कार्यालयले डा. नूतनसँगै डिम्बको अवैध कारोबारमा बिचौलियाको भूमिका खेल्ने तनहुँकी राधिका गोतामेलाई पनि केही दिनको थुनापछि हाजिरजमानीमा छाड्ने निर्णय गरेको थियो । दुवैविरुद्ध ललितपुर प्रहरीले मानव बेचबिखनविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको थियो । तर, अदालतबाटै पक्राउ पुर्जी जारी नभएपछि गम्भीर कसुरमा संलग्न डा. नूतनसहितका अभियुक्तविरुद्ध कारबाही अघि बढ्न सकेन । यद्यपि, अनुसन्धान जारी नै रहने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए । ‘घटनाको अनुसन्धान रोकिँदैन, अहिले पनि अनुसन्धान भइरहेकै छ,’ उनले भने ।
सरकारी वकिल कार्यालयका अनुसार डा. नूतनले बिचौलिया राधिकासँगको आर्थिक कारोबार भने स्वीकार गरेकी छिन् । तर, नाबालिगको अवैध डिम्ब कारोबारमा भने संलग्न नभएको उनको बयान छ । प्रहरी स्रोतले भन्यो, ‘डा. नूतनले बिचौलिया राधिकासँगको आर्थिक कारोबार स्वीकार गरेकी छिन् । तर, नाबालिकाको डिम्ब अवैध रूपमा कारोबार गरेको विषयमा भने उनले इन्कारी बयान दिएकी छिन् । कानुनको परिधिभित्र रहेरै आफूले डिम्ब करोबार गर्दै आएको उनले भनेकी छिन् ।’
अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा संलग्न डा. शर्मा र गोतामेबिच आर्थिक कारोबार हुने गरेको उनीहरूबिच आदानप्रदान भएको ह्वाट्स एप म्यासेजले पुष्टि गरेको छ । प्राप्त सन्देशअनुसार डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । डा. शर्माले उक्त रकम २५ डिसेम्बर ०२५ को साँझ ६ः३१ मा गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । त्यस्तै, २२ डिसेम्बर ०२५ को साँझ ७ः५८ मा पनि डा. शर्माले गोतामेको बैंक खातामा ५० हजार नै पठाएको देखिन्छ ।
डा. नूतनको ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा आइभिएफ सेन्टर छ । सोही सेन्टरमा उनले गत १४ असारमा नाबालिकालाई आर्थिक प्रलोभनमा पारी डिम्ब दिनका लागि राजी गराएकी थिइन् । सोही दिन उनले नाबालिकालाई हर्मोन वृद्धि हुने इन्जेक्सन पनि लगाइदिएकी थिइन् । बालिकालाई सात दिनपछि सेन्टर आउन भनेकी थिइन् । तर, नाबालिकाको स्वास्थ्यमा इन्जेक्सनले गम्भीर असर देखाएपछि उनी तोकिएको समयभन्दा केही घण्टा ढिलो गरी सेन्टर पुगेकी थिइन् । तर, डा. नूतनले ढिला आएको भन्दै नाबालिकालाई हप्काएर सेन्टरबाट पठाएकी थिइन् । स्वास्थ्य झन् जटिल बन्दै गएपछि बालिकाले घटनाको जानकारी अभिभावकलाई गराएकी थिइन् । त्यसलगत्तै अभिभावकले बिचौलिया राधिकालाई भेटेका थिए । राधिकाले नाबालिकाको नाजुक स्वास्थ्य अवस्थाबारे डा. नूतनलाई टेलिफोनबाट जानकारी गराएकी थिइन् । तर, डा. नूतनले उपचार गर्नुको सट्टा उल्टो झपारेकी थिइन् ।
डाक्टरले उल्टै थर्काएपछि पीडित नाबालिकाको अभिभावक जाहेरी लिएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए । घटनामा संलग्न राधिकालाई प्रहरीले बी एन्ड बी अस्पताल परिसरबाटै पक्राउ गरेको थियो । तर, डा. नूतन भने त्यसवेला फिलिपिन्स पुगिसकेकी थिइन् । अवस्था सामान्य भएपछि उनी केही दिनअघि मात्रै नेपाल फर्केकी थिइन् । त्यसलगत्तै उनी बिहीबार प्रहरी कार्यालयमा सुटुक्क हाजिर भएकी थिइन् ।
पीडित बालिका भने अहिले डिप्रेसनमा गएकी छिन् । अभिभावकका अनुसार असैह्य पीडा भएपछि उनी डिप्रेसनमा गएकी हुन् । प्रहरीमा जाहेरी दर्ता गरेकै दिनबाट उनलाई डिप्रेसनको औषधि चलाइएको छ । औषधि सेवनपछि उनी घरबाट बाहिर निस्केकी छैनन् । पाटन मानसिक अस्पतालका चिकित्सकले सिफारिस गरेको औषधि सेवन गरिरहेकी उनी चौबिसै घण्टा सुत्ने, कसैसँग कुराकानी नगर्ने, खाना नखाने, कहिले रुने त कहिले एकोहोरिनेजस्ता समस्याबाट गुज्रिरहेको अभिभावकले बताएका छन् । कक्षा १२ की विद्यार्थी उनी स्वास्थ्य समस्याकै कारण विद्यालय जान पनि सकेकी छैनन् ।
डा. शर्मा त्यही व्यक्ति हुन् जसको नेपाल मेडिकल काउन्सिलले लाइसेन्ससमेत तीन महिनाका लागि निलम्बन गरेको थियो । लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा काउन्सिलले उनको लाइसेन्स निलम्बन गरेको थियो । काउन्सिलको निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट हालेकी थिइन् । तर, अदालतले काउन्सिलको निर्णयमा अन्तरिम आदेश दिएको थिएन । डा. शर्मा सामाजिक सञ्जालमा आइभिएफसम्बन्धी कन्टेन्ट क्रिएटरसमेत हुन् ।