संखुवासभाको सेकाहामा एक घरमा आगलागी

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहा भ्याङखोलामा एक घरमा आगलागी भएको छ। आज (शुक्रबार) खाँदबारी नगरपालिका– ४, सेकाहा भ्याङखोलाका स्थानीय बसन गुरुङको घरमा आगलागी भएको बसनको बुबा ज्ञानबहादुर गुरुङले बताए । उनले बिहान करिब साढे १२ बजेतिर घरमा अचानक आगलागी भएपछि हल्लाखल्ला गरेर छिमेकी, प्रहरी र खाँदबारी नगरपालिकाको दमकलको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको बताए ।

आगलागीबाट बसनको जस्तापाताले छाएको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगलागीबाट मानवीय र पशुचौपयाको भने क्षति भएको छैन। घरभित्र रहेको अन्नापात, भाँडावर्तन र एउटा मोटरसाइकल जलेर नष्ट भएको छ। बसनको घरसँगै टाँसिएको बुबा ज्ञानबहादुर गुरुङको घरको केही भागमा क्षति पुगे पनि जोगाउन सफल भएको छ। बसन ज्ञानबहादुर गुरुङको जेठा छोरा हुन्। बसनको सपरिवार काठमाडौं बस्दै आएका छन् । उनको घरमा भाडामा बस्ने विद्यार्थी र चारजनाको परिवार बस्र्दै आएका थिए। 

आगलागी कसरी भयो र कति क्षति भयो भन्नेबारे स्थानीय, घरधनी र जनप्रतिनिधिहरूको रोहवरमा मुचुल्का उठाउने काम भइरहेको बताउँदै क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । 

आगलागीकाे घटना भएपछि शुक्रबार बिहानै खाँदबारी ४ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष पवित्राकुमारी गुरुङ, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यलगायतको टोली स्थलगत अनुगमनमा पुगेकाे थियाे। बिचल्लीमा परेका परिवारहरूलाई नगरपालिकाले तत्कालका लागि आवश्यक पर्ने राहत सामग्रीहरू सहयोग गर्ने खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । 
 

See More On

सुझावित समाचार