- एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्दा कर बिजक लिएका उपभोक्तामध्ये १५ जनालाई जनही एक लाख र एकजनालाई १० लाख उपहार दिइँदै
सरकारले शुक्रबार सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्दा बिजक लिएका उपभोक्तामध्येबाट १५ जनालाई जनही एक लाख र एकजनालाई १० लाख रुपैयाँ वितरण गर्ने भएको छ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेकाले शुक्रबार सरकारी लट्रीअनुसार रकम वितरण हुन लागेको हो ।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ । विभागका प्राविधिकले नमुना उपहार छनोट बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरिसकेका छन् । उनका अनुसार १ साउनदेखि १५ साउनसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ ।
जसमा हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउनेछन् । यस्तै, सोही अवधिमा सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ । जसमा एकजनाले १० लाख रुपैयाँ नगद जित्नेछन् । यी पुरस्कार रकममा भने २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै विभागले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि तयार गरेको थियो । कार्यविधिअनुसार हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।