चारवर्षीया बालिकाको हत्या आरोपमा छिमेकी पक्राउ

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय मोरङले चारवर्षीया बालिकाको हत्या आरोपमा सुनवर्षी नगरपालिका–९, डाइनियाका ५१ वर्षीय जान महमद मन्सुरीलाई पक्राउ गरेको छ। मन्सुरीले छिमेकी जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन खेल्दै गर्दा पटक-पटक आफ्नो घरमा आएको भन्दै इँटाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

बालिका ८ साउनको साँझ घरनजिकैको बारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा स्थानीयकै संलग्नता देखिएपछि प्रहरीले २० साउनमा छिमेकी जान मोहम्मदलाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भीक अनुसन्धानअनुसार मोहम्मद र बालिकाको परिवारबिच सामान्य मनमुटाव थियो।

बिहानैदेखि हराएकी बालिका घर नफर्किएपछि अपराह्न ४ बजेतिर अभिभावकले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनी साँझ घरनजिकैको घन्सीबारीमा मृत फेला परेकी थिइन्।

घटनाबारे इलाका प्रहरी रंगेलीले अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
 

सुझावित समाचार