जिल्लाको गमगढी–नाक्चेलाग्ना सडकखण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका– १ स्थित अल्का साँघु मोटरेबल पुल निर्माण सम्पन्न भएको १८ महिनापछि सञ्चालन भएको छ।
निर्माण सम्पन्न भएर लामो समयदेखि प्रयोगविहीन रहेको पुल जग्गा मुआब्जा विवाद समाधान भएपछि सञ्चालनमा आएको हो।
पुल सञ्चालन भएसँगै छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौँ स्थानीयवासीलाई आवतजावतमा ठुलो राहत पुगेको छ। डिभिजन सडक कार्यालय, जुम्लाले करिब आठ करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त पुल निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको थिएन।
पुलको पहुँचमार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनी धनबहादुर मल्लले अवरोध गरेपछि पुल सञ्चालन रोकिएको थियो। यसका कारण करिब १८ महिनासम्म पुल प्रयोगमा आउन सकेन। विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्कँदा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए।
पुल सञ्चालनमा नआउँदा छायाँनाथ रारा नगरपालिका– १०, ११ र १२ का बासिन्दा तथा मुगुम कार्मारोङ गाउँपालिकाका नौवटै वडाका सर्वसाधारण, कर्मचारी, विद्यार्थी, बिरामी र व्यापारी प्रभावित भएका थिए। वर्षायाममा खोला बढ्ने भएकाले आवतजावत झन् जोखिमपूर्ण हुने गरेको थियो।
छायाँनाथ रारा नगरपालिकाले मुआब्जा व्यवस्थापनका लागि पहल गरेपछि विवाद समाधान भई पुल सञ्चालनमा आएको हो। नगरपालिकाले जग्गा मुआब्जा उपलब्ध गराउने सहमति गरेपछि जग्गाधनी धनबहादुर मल्लले पनि पुल सञ्चालनमा सहयोग गर्ने सहमति जनाएका छन्।
सहमतिपछि बुधबार नगरप्रमुख विष्णुकुमार भामको नेतृत्वमा अल्का साँघु क्षेत्रमा डोजर परिचालन गरी सडकमा थुप्रिएको पहिरो, ढुंगा र माटो हटाएर पुल सञ्चालनका लागि बाटो खुलाइएको थियो। त्यसपछि पुलबाट सवारीसाधन सञ्चालन सुरु गरिएको हो।
पुल सञ्चालन भएसँगै गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकासम्मको सडक सञ्जाल सहज बनेको छ। अब यही पुलमार्फत दैनिक रूपमा खाद्यान्न, निर्माण सामग्री, औषधिलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सहज हुने भएको छ।
स्थानीय उत्पादन बजारसम्म पुर्याउन, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा आपतकालीन अवस्थामा बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत पुल सञ्चालनले सहजता ल्याउने अपेक्षा गरिएको छ।
नगरप्रमुख भामले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न नगरपालिकाले आवश्यक समन्वय र पहल गरेको बताउँदै अब पुल सञ्चालनसँगै नागरिकले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने बताए।
जग्गाधनी धनबहादुर मल्लले पनि सहमतिपछि पुल सञ्चालनमा कुनै अवरोध नगर्ने तथा विकास निर्माणका काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लामो समयदेखि प्रतीक्षामा रहेको अल्का साँघु मोटरेबल पुल सञ्चालन भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।