कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाको साबिक भिरकोट– ६ (हाल ऋषिङ गाउँपालिका– ४) निवासी अम्मरसिंह नेपाली रहेका छन्।
वारदातपछि फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो।
नेपाल प्रहरीका अनुसार रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट एयर अरेबियाको उडान नम्बर जी ९५३०मार्फत २०८३ साउन २० गते राति १०:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्रममा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।