उदयपुरमा दुई दिनको अवधिमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ। कटारी नगरपालिका– ३, हडैयामा गत शुक्रबार तीन बालक र त्रियुगा नगरपालिका– ३ मा शनिबार एक बालिका गरी चार बालबालिकाको मृत्यु भएको हो।हडैयास्थित खोलामा पौडी खेल्न गएका एकै घरका ११ वर्षीय सुमतकुमार दनुवार, सात वर्षीय सुगमकुमार दनुवार र आठ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । गर्मी छल्न भन्दै पौडी खेल्न गएका उनीहरूको शव सोही दिन साँझ निकालिएको थियो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख तथा डिएसपी उपेन्द्र खरेलका अनुसार पुल जोगाउन र बस्तीमा भेलबाढी पस्न नदिन निर्माण गरिएको बाँधको दहमा डुबेर मृत्यु भएको हो। उनले भने, ‘लाम्चो आकारकाे गहिरो दह रहेछ । जुन खुला रूपमा भएकाले बालबालिका सहजै पुग्ने रहेछन् । जसको कारण दुर्घटना हुन पुग्यो।’
त्यसको दुई दिन नपुग्दै त्रियुगा नगरपालिका– ३, मोतीगडा चाँपस्थित पोखरीमा पौडी खेल्ने क्रममा १२ वर्षीया गृष्मा कार्की डुबेकी थिइन्। प्रारम्भमा बेपत्ता रहेकी उनको शव खोजीपछि शव फेला परेको थियो। चौदण्डीगढी नगरपालिका– ९, हडियाकी गृष्मा मावली घरमा आएको वेला साथीहरूसँग पौडी खेल्न गएकी थिइन्।
स्थानीय पदम दाहाल भन्छन्, ‘जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहमा पर्ने उक्त पोखरी सिँचाइका लागि निर्माण गरिएको हो । तर, पौडी खेल्न पनि मिल्ने थियो। गर्मी छल्न पुगेका बालबालिकामध्ये एउटी बालिकाको ज्यान गयो।’ माथिका घटना तत्कालका उदाहरण मात्र हुन्। उदयपुरका विभिन्न कृत्रिम पोखरी, खोला, दह तथा पोखरीमा डुबेर चार वर्षमा मात्र १६ बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार चार वर्षमा कुल ४९ जनाको डुबेर मात्र मृत्यु भएको छ ।
प्रहरीको तथ्यंंकअनुसार आर्थिक वर्ष ०८०/८१ देखि चालू आर्थिक वर्ष ०८३/८४ को साउनको दोस्रो हप्तासम्म डुबेर ६ जना महिला, २७ जना पुरुष, १२ बालक र चार बालिकाको मृत्यु भएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा तीन बालबालिकासहित १८, ०८१/८२ मा तीन बालबालिकासहित १३, ०८२/८३ मा चार बालबालिकासहित १२ र चालू आर्थिक वर्ष ०८३/८४ मा हालसम्म चार बालबालिकासहित ६ जनाकाे डुबेर मृत्यु भएको भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर प्रमुख एसपी राजन चापागाईंका अनुसार उदयपुरमा डुबेर हुने अधिकांश घटना गर्मी र वर्षायाममा हुने गरेका छन्। नदी, खोला, कृत्रिम पोखरी र अन्य जलाशयमा पौडी खेल्ने, नुहाउने, माछा मार्ने तथा अभिभावकको निगरानीविना बालबालिका पानीनजिक पुग्ने कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।
प्रहरीका अनुसार हाल जिल्ला प्रहरीले जिल्लाभर पोखरी तथा नदीमा डुबेर हुने मृत्युदर घटाउन सचेतनामूलक अभियान पनि सुरु गरेको छ। एसपी चापागाईंले थप्दै भने, ‘गर्मी र वर्षायाममा बालबालिकालाई नदी, खोला, पोखरी तथा अन्य जलाशयमा एक्लै जान नदिन र अभिभावकले निरन्तर निगरानी राख्न आग्रह गर्ने, साथै स्थानीय तह, विद्यालय र समुदायबिच समन्वय गरी डुबेर हुने दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखेको छु ।’
लगातार बालबालिकाले ज्यान गुमाइरहेको घटनाले अभिभावकको सचेतना, स्थानीय तहको पूर्वतयारी र जोखिमयुक्त जलाशयको व्यवस्थापनमाथि हेलचेक्य्राइँ देखिन्छ। उनले थप्दै भने, ‘जनचेतनाको कमी, पोखरीहरूमा सचेतनामूलक होर्डिङ बोर्ड अभाव छ ।’