नेपालले अस्ट्रेलियामा ६ खेल खेल्ने

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी–२० शृंखला खेल्ने भएको छ । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलतालिका सार्वजनिक गरेको हो । यद्यपि, क्यानले सहभागी हुने टिमको टुंगो लगाएको छैन ।

नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसवेला नेपालले ६ खेल खेल्दा दुईमा जितेको थियो भने चार खेलमा पराजित भएको थियो । २१ देखि ३० अगस्टसम्म डार्बिनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेल २१ अगस्टमा एनटी स्ट्राइकसँग खेल्नेछ । 

दोस्रो खेल २२ अगस्टमा बंगलादेश हाई–पर्फर्मेन्स टोलीसँग हुनेछ । त्यसपछि २४ अगस्टमा होबर्ट हरिकेन्स एकेडेमी, २५ अगस्टमा एसिटी कोमेट्स, २७ अगस्टमा किङ्समेन र २९ अगस्टमा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । यद्यपि, अस्ट्रेलियाको प्रतियोगिता र एसिसी प्रिमियर कप खेल्ने चर्चा हुँदा प्रतियोगिता जुध्ने पक्का भएको छ । त्यसैले नेपालले दुई प्रतियोगिताका लागि दुई फरक टोली घोषणा गर्ने सम्भावनासमेत रहेको छ ।

ग्लोबल क्वालिफायर्सको मिति सार्वजनिक 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले १० टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता २२ फेब्रुअरीदेखि २३ मार्च २०२७ सम्म हुनेछ । प्रतियोगिताको भेन्यु भने सार्वजनिक गरिएको छैन । प्रतियोगितामा नेपालले समेत सहभागिता जनाउने पक्का भइसकेको छ । आइसिसी विश्वकप लिग २ को शीर्ष चारमा स्थान नबनाउने पक्कापक्कीपछि नेपालको क्वालिफायर्स खेल्ने पक्का छ । आइसिसी वरीयतामा ११औँ र १२औँ स्थानमा रहेका आयरल्यान्ड र वेस्ट इन्डिजले विश्वकप छनोटमा अन्य आठ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । 

See More On

सुझावित समाचार