शिक्षक कक्षामा पढाउँदै थिए । पछिल्तिर बस्ने दुई विद्यार्थी आपसमा झगडा गरेको आवाज आयो । आवाज आउनासाथ शिक्षकले सोधे– के भयो ? तिमीहरू किन झगडा गर्दै छौ ? रमेशले भने– हेर्नुस् न सर, यो सन्तोष आफ्नै कुरा मात्र सही हो भनेर जिद्दी गर्छ । मेरो कुरै सुन्दैन । सन्तोषले भने– हैन सर, रमेशले भनेको कुरा बिल्कुलै गलत छ । अनि किन सुन्नु त उसको कुरा ? यति भनेर उनीहरू फेरि तँ–तँ र म–म गर्न थाले ।
शिक्षकले उनीहरूलाई रोक्दै आफ्नो नजिक बोलाए र दुवैलाई टेबलको दायाँबायाँ उभिन लगाए अनि दराजबाट अलि ठुलो भकुन्डो निकालेर टेबलको बिचमा राखे । उनले रमेशलाई सोधे– यो भुकुन्डोको रङ कस्तो छ, भन त रमेश ! रमेशले तत्कालै जवाफ दिए– यसको रङ सेतो छ सर ! शिक्षकलाई उछिनेर सन्तोषले भने– देख्नुभयो नि सर, रमेश कालो रङको भकुन्डोलाई सेतो रङको बताइरहेको छ । यसरी देख्दादेख्दै झुटो बोल्ने मान्छेको कुरा के पत्याउनु ?
दुवै आ–आफ्नो जवाफमा दृढ थिए । त्यसैले, पुनः भकुन्डोको रङलाई लिएर बहस गर्न थाले । शिक्षकले उनीहरूलाई शान्त बनाउँदै दुवैको स्थान बदल्न लगाए । दुवै एक–अर्काको स्थानमा पुगिसकेपछि उनले पालैपालो दुवैलाई भकुन्डोको रङबारे प्रश्न गरे । दुवैको स्थानसँगै उत्तर पनि परिवर्तन भयो । अर्थात्, रमेशले भकुन्डोको रङ कालो र सन्तोषले सेतो भएको बताए ।
अन्त्यमा शिक्षकले गम्भीर हुँदै भने– वास्तवमा यो भकुन्डो सेतो र कालो दुई रङ मिलेर बनेको छ । जसरी एक स्थानबाट हेर्दा यो कालो देखिन्छ भने त्यसको विपरीत स्थानबाट हेर्दा यो सेतो देखिन्छ । ठिक त्यसैगरी हाम्रो जीवनमा पनि हरेक वस्तु, घटना, विचार या अन्य जेसुकैलाई पनि फरक दृष्टिकोणबाट हेर्न सकिन्छ । हामीले जसरी कुनै चिजलाई हेर्छौं, अरूले पनि त्यसैगरी हेर्छन् भन्ने छैन । त्यसैले, हामीबिच विवाद भयो भन्दैमा अर्को मान्छे गलत नै हुन्छ भन्ने हुँदैन । त्यसलाई उसका तर्फबाट पनि हेर्ने प्रयास गर्नुपर्छ । यसबाट मात्र अर्थपूर्ण संवाद हुन सक्छ ।