प्रशान्त किशोरको डेब्यु : भाजपामा खतराको घन्टी

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
  • बाँकीपुर क्षेत्रको भाजपाको बलियो किल्ला प्रशान्त किशोरले भत्काइदिएपछि भाजपाको आधारमा खतराको घन्टी बजेको छ

विधान सभाको कुनै पनि उपनिर्वाचनले राज्य र राष्ट्रिय राजनीतिबारे यति धेरै कुरा बोलेको उदाहरण भारतको राजनीतिक इतिहासमा सायदै पाइन्छ । बाँकीपुर विधान सभा उपनिर्वाचनमा प्रशान्त किशोरको विजयले विहारमा अनेकौँ सम्भावनाको ढोका खोलेको छ । कागजी रूपमा हेर्दा जन सुराज पार्टी (जेएसपी)का संस्थापकले पहिलोपटक चुनावी मैदानमा उत्रिएका भाजपाका नीरज कुमारलाई ठुलो मतान्तरले पराजित गरेका छन् । तर, उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई पराजित गरेका हुन् । नवीनले यसअघि यसै निर्वाचन क्षेत्रबाट लगातार पाँच कार्यकाल जित हासिल गरेका थिए र पछि राज्यसभा जान राजीनामा दिएका थिए । बाँकीपुर क्षेत्र भाजपाको बलियो किल्ला हो र अहिले प्रशान्त किशोरले त्यो किल्ला भत्काइदिएका छन् ।

कुल तीन लाख ७९ हजार मतदातामध्ये करिब एक लाख ६० हजार ‘उच्च जात’का हिन्दु रहेको बाँकीपुर निर्वाचन क्षेत्र विगत तीन दशकदेखि भाजपाको गढ रहँदै आएको थियो । नवीनका पिताले पनि यहाँ लगातार चार कार्यकाल जित हासिल गरेका थिए । निर्वाचन रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोरले यो गढलाई निर्णायक रूपमा तोडेका छन् । जात वा धर्ममा नभई विकासमा केन्द्रित उनको वैकल्पिक राजनीतिक धारप्रति विहारले अन्ततः सकारात्मक प्रतिक्रिया जनाउन थालेको यो पहिलो संकेत हो ।

लगभग भाजपाका राष्ट्रिय अध्यक्षलाई नै पराजित गरेसरह ‘दिग्गज नेतालाई हराउने व्यक्ति’को छवि बनाएका प्रशान्त किशोर र उनको जेएसपी आगामी महिना र वर्षमा लालु–तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) को स्थान लिँदै प्रमुख विपक्षी शक्तिका रूपमा उदाउन सक्छ । यता, तेजस्वीमा भने संघर्ष गर्ने इच्छाशक्ति देखिएको छैन । सम्राट चौधरी सरकारको पहिलो चुनावी परीक्षणका रूपमा रहेको बाँकीपुरको चुनावी अभियान पनि खोट लगाउने प्रशस्त ठाउँ छ । किनकि, प्रचार अभियान चलिरहेकै वेला उनी बिदामा थिए । यसअघि कुनै राजनीतिज्ञले निर्वाचनको समय पारेर विदेशमा तीन साता लामो बिदा मनाउँदैनथे ।

बाँकीपुरमा प्रशान्तको जितले भाजपा आधारमा खतराको घन्टी बजेको छ । यो जितले भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन, मुख्यमन्त्री सम्राट चौधरी वा स्वयं प्रशान्त किशोरबारे के संकेत गर्छ भन्ने कुरा मुख्य विषय होइन । भाजपाका लागि अझ बढी चिन्ताको विषय त के हो भने उसका मुख्य मतदाता मानिने ‘उच्च जात’का मानिसमा निराशा बढेको र उनीहरू पार्टीबाट टाढिँदै गएको देखिन्छ । सतही रूपमा हेर्दा यी नतिजा पटना वा अन्य ठाउँमा भएका जेन–जीका विरोध प्रदर्शनको परिणाम नै हुन् वा होइनन्, यकिनसाथ भन्न सकिन्न ।

प्रशान्त किशोरका सह–निर्वाचन परामर्शदाता नरेश अरोराले भनेझैँ ‘जेन–जी’ यस्तो पहिलो पुस्ता हो, जसलाई जात वा धार्मिक पहिचानको सट्टा उनीहरूको सोच वा मानसिकताका आधारमा एउटा मतदाता समूहका रूपमा हेरिनुपर्छ । विरोधमा उत्रिएका विद्यार्थी र युवा सबै प्रश्नपत्र चुहावटबाट मात्र प्रभावित थिएनन् । उनीहरूले विद्यमान परिस्थितिबारे आफ्ना समग्र गुनासा व्यक्त गरिरहेका थिए । सरकारी ढिलासुस्ती, अनिमितता, भ्रष्टाचार र बेरोजगारीबारे उनीहरू असन्तुष्ट थिए । यस अर्थमा, बाँकीपुर उपनिर्वाचनको नतिजालाई ‘जेन–जी’को विरोध प्रदर्शनकै सन्दर्भमा हेर्न सकिन्छ ।

सन् २०१४ मा भाजपालाई सत्तामा पुर्याउने विद्यार्थी र युवालगायत उसका मुख्य मतदातामा बढ्दो असन्तुष्टिप्रति पार्टी बेखबर भने छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विश्वासपात्र तथा सन् २०१४ देखि नै सरकारमा निरन्तर टिकिरहेका अत्यन्तै थोरै मन्त्रीमध्येका एक, तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई जिम्मेवारीबाट हटाए । मोदीका बाँकी विश्वासपात्रमा राजनाथ सिंह, नितिन गडकरी, पियूष गोयल, निर्मला सीतारमण, राव इन्द्रजित सिंह र जितेन्द्र सिंह गरी मुस्किलले आधा दर्जन मात्र छन् । बाँकी भने समयक्रमसँगै बाहिरिए । ‘साङ्ला’हरूलाई शान्त पार्न र जन्तरमन्तरबाट घर फर्काउन सरकारले प्रधानको ‘बलि’ चढायो । विद्यार्थीसामु झुकेर गल्ती गरियो भन्ने अहिले उनको पार्टीले महसुस गरेको देखिन्छ । प्रधानलाई हटाएयता विद्यार्थीप्रति भाजपाको दृष्टिकोणमा आएको परिवर्तन हेर्नुहोस्, अब उनीहरूसँग नरम व्यवहार गरिनेछैन, बरु अब कडा कारबाहीको समय आएको छ ।

पार्टीकी सांसद कंगना रनौतले युवतीहरूलाई गृहणीसमेत बन्न नसक्ने फोहोरी पुस्ता (जेनेरेसन गटर) भन्दै आलोचना गर्दा उनको धारणाले सीमा नाघेको थियो । किनकि, मोदी सरकार आन्दोलनरत विद्यार्थी र युवालाई खुसी पार्न हरसम्भव प्रयास गरिरहेको थियो ।

द प्रिन्टबाट

(सिंह द प्रिन्टका राजनीतिक मामिलाका सम्पादक हुन्)

सुझावित समाचार