मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठकमा मन्त्री खनालले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताए।

उनले भने, ‘द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ। उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले काम गर्नेछौँ।’

परराष्ट्रमन्त्री खनालले मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा राखेर रणनीतिक योजनामा काम गरिरहेको बताए। उनले विदेशमा बसोबास गर्ने नेपालीको यकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गरे। त्यसका लागि अभियान नै सञ्चालन गरेर विदेशमा रहेका नेपालीको संख्या यकिन गर्नुपर्नेमा उनले जोड दिए।

परराष्ट्र मन्त्रालयमा आयोजित उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, परराष्ट्रसचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका अधिकारी तथा विभिन्न मन्त्रालयका अधिकारी उपस्थित थिए।

सुझावित समाचार