बागमतीका नवनियुक्त मन्त्री बज्राचार्यले लिए शपथ

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथ गराएका हुन्। बज्राचार्यले नेपाली भाषामा शपथ लिएका छन्। उनी हाम्रो नेपाली पार्टी (हानेपा)बाट सरकारमा सहभागी भएका हुन्।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी पौडेलले मंगलबार बिहान मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।

बागमती प्रदेश सरकार अल्पमतमा रहेका वेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो। सत्तासाझेदार एमालेले साउन ६ गते सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा छ। संविधानअनुसार सरकारले भदौ ५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

यसअघि मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको निरन्तरताका लागि एमाले, नेकपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग औपचारिक रूपमा समर्थन माग्दै पत्राचार गरेका थिए। नयाँ सत्तागठबन्धनले अझै स्पष्ट बहुमत जुटाउन नसकेको अवस्थामा बज्राचार्यको मन्त्री नियुक्तिलाई सरकारको निरन्तरता सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ।

हाल बागमती प्रदेश सरकारमा शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादे स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय तथा कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन्।

सुझावित समाचार