नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपिएस)ले गत असारमा मात्रै १२ खर्बभन्दा बढीको कारोबार फर्स्याेट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धि हासिल गरेको छ।
आर्थिक वर्ष ०८२/८३ मा आरपिएसमार्फत ९३ खर्ब रुपैयाँबराबरको रियल–टाइम कारोबार फर्स्याेट भएको छ, जुन सोही अवधिमा चेकमार्फत भएका कारोबारको कुल रकमभन्दा निकै बढी हो। यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायहरूिच अन्तरआबद्ध डिजिटल भुक्तानी प्रणालीप्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको छ।
रिटेल पेमेन्ट स्विचको यो प्ल्याटफर्म एक महत्त्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रूपमा रही सुरक्षित, विश्वसनीय र ठुलो संख्यामा कारोबार फर्स्याेट गर्न सक्षम रहेको प्रमाणित गरेको कम्पनीको दाबी छ। नोभेम्बर २०२१ मा सञ्चालनमा आएको आरपिएस, नेसनल पेमेन्ट स्विचको एक महत्त्वपूर्ण हिस्साको रूपमा एनसिएचएलले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप कार्यान्वयन तथा सञ्चालन गर्दै आएको छ।
साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको आरिएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पिएसओ), भुक्तानी प्रणाली सञ्चालक (पिएसपी) तथा सरकारी निकायहरूबिच सुरक्षित, रियल–टाइम तथा बैंक खातामा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ।