दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। यस्तै, पशुपति सहकारीका सातजना बचतकर्ताले पनि बचत फिर्ता पाएको समितिले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत दुई सहकारीका गरी ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो।

समितिले साउन १ देखि १५ गतेसम्मको अवधिमा विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुलेको छ। ऋणीबाट असुल भएको रकमलाई नै पीडित बचतकर्ताको बचत फिर्तामा प्रयोग गरिएको मन्त्रालयले बताएको छ।

सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुली गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको छ। सहकारीमा बचत रकम फसेका पीडितलाई क्रमशः रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ।

यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ । समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

सुझावित समाचार