भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक

वर्षमा चार अन्तर्राष्ट्रियसहित २० प्रतियोगिता गरिने

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

नेपाल भलिबल संघ (एनभिए)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार अध्यक्ष जितेन्द्र चन्दले चार अन्तर्राष्ट्रियसहित वर्षभरि २० प्रतियोगिता आयोजना गर्ने गरी क्यालेन्डर सार्वजनिक गरेका हुन् । जसमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को तीन तथा एक त्रिदेशीय प्रतियोगिता रहेको छ । ‘हामीले अहिले निश्चित भएका मात्रै प्रतियोगिता समावेश गरेका छौँ । त्यो पनि हुने पक्का भएका,’ चन्दले भने, ‘मोफसलका प्रतियोगिता समावेश गरेका छैनौँ । ती प्रतियोगितालाई हामीले पछि मात्रै स्वीकृत दिने हौँ ।’

क्यालेन्डरअनुसार नेपालले कात्तिक १५ देखि २१ गतेसम्म काभा महिला च्याम्पियन्स लिग आयोजना गर्नेछ । त्यस्तै, पुरुषतर्फ विश्व वरीयताका लागि काभा भलिबल च्याम्पियनसिप हुनेछ । यसमा भारत र अफगानिस्तानजस्ता बलिया टोलीको पनि सहभागी हुनेछन् । ‘पाकिस्तानमा भर्खरै काभा च्याम्पियनसिप भयो । तर, त्यहाँ केही भिसाको कारण त केही राजनीतिक द्वन्द्वका कारण टिम सहभागी भएनन् । न्युट्रल भेन्यु भएकाले नेपालमा त्यस्तो घटना हुँदैनन् । त्यसैले पनि अधिकांश देश नेपालमा खेल्न तयार भएपछि हामीले प्रतियोगिता आयोजना गर्न पायौँ,’ अध्यक्ष चन्द भन्छन् ।

यसैगरी, संघले पुरुषतर्फ नै काभा च्यालेन्ज कप आयोजना गर्ने जनाएको छ । पुरुषका यी दुई प्रतियोगिताको मिति टुंगो लगाइएको छैन । पुरुष र महिलासँगै अन्य प्रतियोगिताको पनि मिति र सहभागी टिम भने पक्का गरिएको छैन । यद्यपि, एक घरेलु प्रतियोगिता सुर्खेतमा हुँदा १९ प्रतियोगिता काठमाडौंमा हुने संघले जनाएको छ । संघले कुल २० प्रतियोगिता गर्न २० करोड बजेट लाग्ने अनुमान गरेको छ । जसमा केही फ्रेन्चाइज टिमले खर्च गर्ने, केही संघले तथा केही भने सरकारबाट सहयोग आउने अध्यक्ष चन्दले जानकारी गराए । पत्रकार सम्मेलनमा चन्दसँगै उपाध्यक्ष युवराज श्रेष्ठ, भरत शाह, महासचिव रोशन श्रेष्ठलगायत पदाधिकारी सहभागी थिए । 

यस्ता छन् घरेलु प्रतियोगिता
अन्तर्राष्ट्रिय आयोजनाबाहेक संघले आसन्न २०औँ एसियाली खेलकुद र भुटानमा हुने काभाबिच भलिबल टुर (महिला/पुरुष)लाई पनि समावेश गरेको छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा एसियाली खेलकुदमा महिला भलिबलले सहभागिता जनाउँदै छ । बिच भलिबल पनि सेप्टेम्बरमै हुने तालिका छ । क्यालेन्डरमा माल्दिभ्समा हुने काभाबिच भलिबल टुरको अर्को संस्करणलाई पनि समावेश गरिएको छ ।

क्यालेन्डरका अनुसार घरेलु प्रतियोगिताअन्तर्गत सिनियरतर्फ ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । यसैगरी, १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, फ्रेन्चाइज लिगका दुई प्रतियोगिताहरू एभरेस्ट महिला भलिबल लिग र पुरुषको नेपाल भलिबल लिग काठमाडौंमा हुनेछन् ।

११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग र सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल पनि समावेश छन् । उमेर समूहतर्फ यू–१९ र यू–१५ महिला तथा पुरुष राष्ट्रिय भलिबल लिग काठमाडौंमा हुनेछ । यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता पनि उल्लेख गरिएको छ । त्यस्तै, काभा यू–१६ भलिबल च्याम्पियनसिप, राष्ट्रिय रेफ्री कोर्स/रिफ्रेसर कोर्स, कोचेज कोर्स र मैत्रीपूर्ण खेललाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । 

सुझावित समाचार