अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि आठ वर्षको प्रतिबन्ध लगाएको छ । सोमबार आइसिसीको एन्टी करप्सन कोड (एसियू)ले २६ वर्षीय अखिलेशलाई एसियूसम्बन्धी आचार संहिताका तीनवटा कसुरमा दोषी ठहर गरेको हो । योसँगै उनीलाई सबै प्रकारका क्रिकेट गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।
यो प्रतिबन्ध सन् २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । त्यही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए । अखिलेशमाथि संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न अबुधाबी टी–१० लिग २०२५ मा भ्रष्टाचार गरेको आरोप छ ।
उनले नतिजा वा अन्य पक्षमा अनुचित प्रभाव पार्ने प्रयास गरेको, अर्को सहभागीलाई खेल मिलेमतो गर्न उक्साएको तथा अनुसन्धानका क्रममा मोबाइलबाट सम्बन्धित डाटा र सन्देश मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको आरोपमा दोषी ठहर गरेको हो ।
अखिलेशले टी–२० आईमा चार खेल खेल्दा ८५ रन बनाएका छन् । यस्तै, टी २० मा पनि चार खेलमा ८५ रन नै बनाएका हुन् । पछिल्लोपटक उनले नोभेम्बर २०२५ मा अबुधाबीमै अन्तिम खेल खेलेका थिए ।