इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिको उद्देश्यसहित पोखरास्थित ल्यान्डमार्क होटेलमा दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार घिमिरे प्रमुख अतिथि तथा सञ्चालक रमेशकुमार र संस्थापक सेयरधनी दिनेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन नायब प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले गरेका थिए।
कार्यक्रममा संस्थाका १०२ वटै शाखाका प्रमुख, अनुगमन अधिकृत, विभागीय प्रमुख तथा व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले जोखिम व्यवस्थापन, सुशासन र प्रभावकारी नेतृत्व नै संस्थागत सफलताका आधारस्तम्भ भएको उल्लेख गर्दै बदलिँदो वित्तीय परिवेशलाई आत्मसात् गर्दै रणनीतिक सोच, सामूहिक प्रयास र उत्कृष्ट कार्यसम्पादनका साथ संस्थालाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए। विशेष अतिथि अधिकारीले यस्ता कार्यक्रमले कर्मचारीको ज्ञान, सिप र कार्यदक्षता अभिवृद्धि गर्दै संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतारी सदस्यमैत्री, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए।
सभाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पन्तले संस्थाको दीर्घकालीन लक्ष्य र भिजन प्रस्तुत गर्दै जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई अझ सशक्त बनाउन कर्मचारीलाई प्रेरित गरे।
कार्यक्रममा शाखाहरूको समग्र कार्यसम्पादनको समीक्षा गर्दै विगतका उपलब्धि, देखिएका चुनौती, सुधार गर्नुपर्ने क्षेत्र तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। सो अवसरमा विभागीय प्रमुखहरूले जोखिम व्यवस्थापन, कर्जा तथा असुली व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, प्रभावकारी सेवा प्रवाह, नेतृत्व विकास तथा शाखा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
सहभागीहरूबिच भएको समूहगत छलफलबाट व्यावहारिक समस्या समाधान, सुधारका उपाय तथा भावी रणनीतिबारे साझा निष्कर्ष निकालिएको थियो। ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदान–प्रदानमार्फत शाखा तथा विभागबिचको समन्वय र सहकार्य थप सुदृढ हुँदै संस्थाको लक्ष्य प्राप्तिका लागि साझा प्रतिबद्धता र सकारात्मक ऊर्जा अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी बनेको संस्थाले जनाएको छ।