काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने भएको छ । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले प्रतियोगिता आगामी १५ देखि २१ कात्तिकसम्म नेपालमै आयोजना गर्ने निर्णय गरेको हो । नेपालले यसअघि २०२४ र २०२६ मा सफलतापूर्वक काभा च्याम्पियन्स लिग आयोजना गरेको थियो ।
गत संस्करण पनि नेपालमै हुने तय थियो । तर, जेन–जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो । ताजकिस्तानमा भएको प्रतियोगितामा नेपाल सहभागी थिएन । संघको पूर्ण बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णय भएको छ । नेपाल भलिबल संघको ०८३/८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको संघले जनाएको छ । नेपाल भलिबल संघ स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहसाथ मनाइने निर्णय भएको छ । यसलाई ‘गोल्डेन जुब्ली’का रूपमा भव्यताका साथ मनाउने निर्णय भएको संघले जनाएको छ ।
संघको आसन्न १३औँ चुनावी साधारणसभालाई लक्षित गर्दै आगामी १५ असोजभित्र सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ । यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि (संयोजक) चयन गरिएको छ ।
जसअनुसार कोशीमा मदन खड्का, मधेशमा मोहम्मद फिरोज, बागमतीमा गौतम लासिवा, गण्डकीमा यमबहादुर गुरुङ, लुम्बिनीमा भीम ओली, कर्णालीमा मंगल श्रेष्ठ र श्याम श्रेष्ठसँगै सुदूरपश्चिममा हरकसिंह धामीलाई संयोजक तोकिएको छ । नयाँ क्लबलाई सदस्यता दिनुअघि कार्यदल बनाएर कार्यविधि निर्माण गरिने र त्यसअनुसार मापदण्ड पूरा भएमा मात्र सदस्यता दिने निर्णय संघको पूर्ण बैठकले गरेको छ ।