नाबालिगको डिम्बको अवैध कारोबार : डा. शर्मासहित आरोपीविरुद्ध अदालतले दिएन पक्राउ अनुमति
१६ वर्षीया नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डा. नूतन शर्मालगायत आरोपीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्न आनाकानी गरेको छ । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको ‘बिचौलिया’ राधिका गोतामेलाई पनि पाँच दिनको थुनापछि हाजिरी जमानीमा छाडिदिएको छ । अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीडाका कारण डिप्रेसनमा पुगेकी छिन् ।
अभिभावकका अनुसार पीडितले १५ दिनदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकी छिन् र घरबाट बाहिर निस्किएकी छैनन् । कहिले रुने, कहिले एकोहोरिने, कसैसँग कुराकानी नगर्ने र खानामा रुचि नगर्ने लक्षण देखिएकाले उनी विद्यालय
जान नसकेको अभिभावकले बताए ।
‘छोरीको पाठेघरको दुखाइ केही कम भएको छ, तर मानसिक समस्या जटिल देखिएको छ । २४सै घण्टा सुतिरहने, कहिले रुने, कहिले एकोहोरिने, कसैसँग कुराकानी नगर्ने र खानामा रुचि नगर्ने लक्षण देखिएको छ । अहिले विद्यालय पनि जान सकेकी छैनन् । १५ दिनदेखि डिप्रेसनको औषधि चलाइएको छ,’ अभिभावकले भने । पीडित नाबालिग १२ कक्षाकी विद्यार्थी हुन् ।
अभिभावकका अनुसार नाबालिगको शारीरिक र मानसिक स्वास्थ्यमा असर देखिन थालेको १४ असारदेखि हो । त्यही दिन ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालको आइभिएफ सेन्टर सञ्चालिका तथा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं टेस्टट्युब बेबी (आइभिएफ) विशेषज्ञ डा. शर्माले हर्मोन बढाउने इन्जेक्सन दिएकी थिइन् । स्वास्थ्यमा प्रतिकूल भएकै कारण नाबालिग डा. शर्माले बोलाएको समयभन्दा केही ढिला अस्पताल पुगेकी थिइन् । तर, उनले उपचार गर्नुको सट्टा बालिकालाई झपारेर पठाएकी थिइन् । त्यसपछि बालिकाको शारीरिक मात्रै नभएर, मानसिक स्वास्थ्यसमेत बिग्रिन थालेको थियो ।
‘पाठेघरमा असह्य पीडा छँदै थियो, त्यसमाथि मानसिक समस्या पनि देखिन थाल्यो । शरीरको चालढाल नै बदलियो । शरीर पसिनाले भिज्न थाल्यो, हात–खुट्टा काँप्न थाले । श्वासप्रश्वासमा पनि समस्या देखिन थाल्यो,’ अभिभावकले भने, ‘अर्को आइभिएफ सेन्टर पुगेर हर्मोन घटाउने इन्जेक्सन लगाएपछि पाठेघरको दुखाइ त कम भयो, तर मानसिक समस्या झन् बढिरहेको छ ।’
अभिभावकका अनुसार प्रहरीको सक्रियतामा नाबालिगलाई पाटनस्थित मानसिक अस्पताल लगिएकामा चिकित्सकले डिप्रेसनको औषधि सिफारिस गरेका हुन् । १५ दिनदेखि उनी सोही औषधि सेवन गर्दै आएकी छिन् । ‘स्वास्थ्यमा असामान्य गतिविधि देखिएपछि प्रहरीले नै छोरीलाई पाटनस्थित मानसिक अस्पताल लिएर गएका थिए । चिकित्सकले डिप्रेसनको औषधि दिएका छन् । १५ दिनदेखि औषधि सेवन गरिरहेकी छिन्,’ अभिभावकले भने, ‘उक्त औषधि कम्तीमा ६ महिना सेवन गर्नुपर्छ रे ।’
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले पनि ‘नियमित प्रोसिड्युर’अन्तर्गत बालिकालाई पाटन मानसिक अस्पतालमा स्वास्थ्य जाँचका लागि लगिएको बताए ।
अवैध कारोबारमा संलग्नलाई उन्मुक्ति दिने खेल
डिम्ब कारोबारमा बिचौलियाको आरोप लागेकी तनहुँकी राधिका गोतामेलाई गत ३ साउनमा पीडित बालिकाका अभिभावकले नै पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरले मानव बेचबिखन कसुरअन्तर्गत घटनाको अनुसन्धान अघि बढायो । जिल्ला अदालत ललितपुरले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद पनि थपिदियो । तर, कारोबारको मुख्य योजनाकार भनिएकी डा. शर्मासहितका अभियुक्तलाई अदालतले पक्राउ पुर्जीको अनुमति नदिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले गोतामेलाई पनि हाजिरी जमानीमा छाडिदियो ।
जिल्ला न्यायाधिवक्ता गणेश पौडेलले अदातलबाट पक्राउ अनुमति नदिएको हुँदा घटनामा पक्राउ परेका अभियुक्तलाई समेत हाजिर जमानीमा छाडिएको बताए । ‘नाबालिगको डिम्ब कारोबार अत्यन्तै सिरियस केस हो । घटनामा एक अभियुक्त पक्राउ पनि परेका रहेछन् । तर, उनलाई हाजिर जमानीमा छाडिएको रहेछ । मैले त्यसपछि कार्यभार सम्हालेको हो,’ उनले भने, ‘अदालतले पक्राउ अनुमति नदिएका कारण हाजिरी जमानीमा छाडिएको भन्ने बुझेको छु । यद्यपि, अनुसन्धान जारी राख्न प्रहरीलाई भनिएको छ ।’
डा. शर्मा र गोतामेबिच आर्थिक कारोबार हुने गरेको उनीहरूबिच आदानप्रदान भएको ह्वाट्सएप म्यासेजले पुष्टि गरिसकेको छ । अनुसन्धानमा भेटिएअनुसार डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । डा. शर्माले उक्त रकम २५ डिसेम्बर ०२५ को साँझ ६:३१ मा गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । त्यस्तै, २२ डिसेम्बर ०२५ को साँझ ७:५८ मा पनि डा. शर्माले गोतामेको बैंक खातामा ५० हजार नै पठाएको भेटिएको छ ।
प्रहरीका अनुसार १४ असारमा नाबालिगको डिम्ब कारोबार गर्ने क्रममा पनि डा. शर्माले गोतामेलाई बैंकिङ कारोबारमार्फत ५० हजार पठाइदिएकी थिइन् । उक्त रकममध्ये ३० हजार गोतामेले नाबालिगलाई उपलब्ध गराएकी थिइन् । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले डा. शर्मा र गोतामेबिच डिम्ब कारोबारका क्रममा आर्थिक लेनदेन हुने गरेको देखिने बताए ।
यही प्रमाणका आधारमा प्रहरी परिसर ललितपुर डा. शर्मालगायतविरुद्ध पक्राउ अनुमति माग्न ललितपुर जिल्ला अदालत पुगेको थियो । तर, अदालतले पक्राउ पुर्जी जारी गरेन । बालिकामा डिप्रेसन बढिरहँदा आरोपी डा. शर्मा भने विदेश सयरमा छिन् ।
जिल्ला अदालत ललितपुरका प्रवक्ता टीकाध्वज कार्कीले नाबालिगको डिम्ब अवैध कारोबार गम्भीर मुद्दा भएको, तर पक्राउ अनुमति भने जारी नभएको बताए । ‘अदालतले प्रहरीकै प्रतिवेदनका आधारमा पक्राउ अनुमति दिने हो । जहाँसम्म डा. नूतन शर्मासहितको केस छ । उनीहरूविरुद्ध पक्राउ अनुमति जारी गरिएजस्तो लाग्दैन । अध्ययन गरेर मात्रै कारण भन्न सकिएन,’ उनले भने, ‘पक्राउ परेकालाई हाजिर जमानीमा छाड्ने काम त प्रहरीको हो ।’ डा. शर्मा त्यही व्यक्ति हुन्, जसले लिंग पहिचान गरी गर्भपतन गराएको भेटिएपछि विगतमा नेपाल मेडिकल काउन्सिलले तीन महिना लाइसेन्ससमेत निलम्बन गरेको थियो । काउन्सिलको निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट हालेकी थिइन् । तर, अदालतले काउन्सिलको निर्णयमा अन्तरिम आदेश दिएको थिएन । डा. शर्मा सामाजिक सञ्जालमा आइभिएफसम्बन्धी कन्टेन्ट क्रिएटरसमेत हुन् ।
डिम्ब दानमा सर्वोच्चले एक वर्षअघि नै लगाएको थियो रोक
सर्वोच्च अदालतले वर्ष दिनअघिबाटै अवैध रूपमा डिम्ब निकालेर बिक्री–वितरण गर्ने कार्यमा रोक लगाएको थियो । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एक इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्मको अवधिभर डिम्ब निष्कासनमा रोक लगाएको थियो । तर, डिम्बको अवैध कारोबार हालसम्म पनि रोकिएको छैन ।
आर्थिक प्रलोभनमा पारी किशोरीको डिम्ब अवैध ढंगले झिकी बिक्री–वितरण भएको समाचार सार्वजनिक भएपछि अधिवक्ता नीरव ज्ञवाली, ध्रुव भण्डारी र अंतिका त्रिपाठीले सर्वोच्च अदालतमा १ भदौ ०८२ मा रिट निवदेन दिएका थिए । सोही निवेदनमा सर्वोच्चका न्यायाधीश ढुंगानाले निवेदनको अन्तिम टुंगो नलागेसम्मको अवधिका लागि डिम्ब निष्कासनमा रोक लगाउने अन्तरिम आदेश दिएका थिए ।
आदेशमा भनिएको थियो, ‘...नाबालिग तथा किशोरीहरूको शोषण हुन सक्ने जोखिम र सुविधा सन्तुलनलाई समेत दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नेपाल राज्यभर महिला तथा नाबालिगबाट डिम्ब निष्कासन तथा भण्डारण गर्ने कार्यमा रोक लगाई सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनू...।’
अनुसन्धानमा देखियो निवर्तमान महान्यायाधिवक्ता भण्डारीको निर्णयको ‘साइडइफेक्ट’
नाबालिगको डिम्ब अवैध रूपमा कारोबार घटनामा यसअघि निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारीकी छोरी डा. प्रत्यूषा बरालको समेत संलग्नता पाइएको थियो । उनी बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिककी सञ्चालिका हुन् । सेन्टरकी प्रमुख डा. स्वस्ति शर्मा छिन् । उनी पनि पूर्वन्यायाधिशकी छोरी हुन् । उक्त घटनामा सिआइबीले अनुसन्धान गरी अदालतमा मुद्दासमेत दर्ता गरेको थियो । तर, तत्कालीन महान्यायाधिवक्ता भण्डारीले मुद्दा नचल्ने निर्णय गराएकी थिइन् । त्यसयता डिम्बको अवैध कारोबार अझ तीव्र रूपमा मौलाएको प्रहरी भनाइ छ । नाबालिगको डिम्बको अवैध कारोबार कसुरमा जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी नहुनुमा सोही निर्णयको ‘साइडइफेक्ट’ भएको एक प्रहरी अधिकारीले बताए ।