- ‘स्ट्रेट अफ हर्मुज’को अवरोधपछि साउदीले लालसागरबाट तेल ढुवानी गरिरहेको मार्गमा पनि हुथीले नाकाबन्दी लगाइदिएको छ
साउदी अरबले लालसागरमा निर्वाध ढुवानी सञ्चालन कायम राख्न भन्दै एउटा अन्तर्राष्ट्रिय गठबन्धनको घोषणा गरेको छ । यमनका इरान–समर्थित हुथी मिलिसियाहरूले लालसागरमा साउदी जहाजमाथि आक्रमण सुरु गरेपछि साउदी नेतृत्वको यो गठबन्धन निर्माण भएको हो । यसको मुख्यालय रियादमा हुने तय भएको छ । गठबन्धनमा सहभागी हुन रियादले ५१ देशलाई आमन्त्रित गरेकोमा ४३ देशले गठबन्धन स्थापनाका लागि भएको बैठकमा प्रतिनिधि पठाएका थिए । तीमध्ये १३ देशले गठबन्धनमा सहभागिता जनाउन सहमति जनाएको बिहीबार साउदी अरबको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार ‘मल्टिनेसनल म्यारिटाएम डिफेन्स अलायन्स’ नामक गठबन्धनमा साउदी अरबबाहेक टर्की, कुवेत, बहराइन, कतार, जोर्डन, इजिप्ट, पाकिस्तान, जिबुटी, सोमालिया, बंगलादेश, यमन, सुडान र कोमोरोस रहनेछ । उल्लेखनीय रूपमा यही भेगका संयुक्त अरब इमिरेट्स (युएई) र ओमान भने गठबन्धनबाहिरै रहेका छन् । इरान युद्धपछि ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध भएका कारण साउदी अरबले आफ्ना तेल ढुवानीको ठुलो अंश लालसागरमार्फत गर्दै आएको थियो । तर, जुलाई २० देखि हुथी मिलिसियाले त्यही लालसागर हुँदै जाने साउदी ढुवानीमाथि पनि समुद्री नाकाबन्दीको घोषणा गर्यो ।
इरान युद्धका कारण साउदीले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानी गर्ने पेट्रोलियम पदार्थ पनि यस मार्गबाट बाइपास गर्न थालेपछि यो हिस्सा बढेको थियो । तर, अहिले इरान समर्थित हुथीका कारण साउदीको यो मार्ग पनि अवरुद्ध भयो । यसैकारण अहिले साउदीले समुद्री ढुवानी खुलाउन भन्दै गठबन्धन बनाउन अग्रसरता देखाएको हो ।
लालसागरको एकातर्फ साउदी अरब र यमन छन् भने अर्कातर्फ इजिप्ट, सुडान, इरिट्रिया, जिबुटी र सोमालिया । यो विश्वको सबैभन्दा महत्वपूर्ण ढुवानी मार्गमध्ये एक हो, जहाँबाट विश्वव्यापी कुल समुद्री ढुवानीको ३० प्रतिशत र पेट्रोलियम पदार्थ ढुवानीको पाँच प्रतिशत ओगट्छ । र, सबैभन्दा साँघुरो विन्दु केवल २९ किलोमिटर चौडा रहेको यस जलमार्गमा पर्ने साँघुरो भाग ‘बाब अल–मान्डेब’बाट जहाजको आवतजावतमा सहजै अवरोध सिर्जना गर्न सकिन्छ । बाब अल–मान्डेब लालसागरका दुईवटा प्रवेश विन्दुमध्ये एक हो, जसको अर्को छेउ स्वेज नहर हो । इरान समर्थित हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई नियन्त्रणमा लिएका थिए । त्यसवेलादेखि हुथीविरुद्ध साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारविरुद्ध गृहयुद्ध चलिरहेको छ । बिचमा केही समय रोकिएको युद्ध गत जुलाई १३ मा साउदी समर्थित फौजले हुथी नियन्त्रणको साना अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेपछि बल्झिएको छ । तनाव कम गर्ने प्रयास असफल भएपछि जुलाई २० मा हुथी समूहले साउदी अरबमाथि लालसागरमा नाकाबन्दीको घोषणा गर्यो ।
साउदी अरबले आफूहरूमाथि विगत १२ वर्षदेखि ‘अन्यायपूर्ण र दमनकारी घेराबन्दी’ गरेको, आफ्ना ‘स्रोत लुटेको र जमिन, समुद्र र हावाबाट हाम्रा बन्दरगाह र विमानस्थलमाथि कठोर नाकाबन्दी लगाएको’ आरोप लगाउँदै हुथीले जवाफी नाकाबन्दी लगाउन बाध्य भएको स्पष्टीकरण दिएको छ । जुलाई २० पछि कैयौँ साउदी झन्डा लगाइएका जहाज तथा तेल ट्यांकरमाथि आक्रमण भइसक्यो । यसअघि सन् २०२३ मा, गाजामाथि इजरायलले सैन्य आक्रमण सुरु गरेपछि पनि हुथीहरूले बाब अल–मान्डेबबाट इजरायली जहाजमाथि आक्रमण गरेर विश्वव्यापी ढुवानीलाई बाधा पुर्याएका थिए ।
साउदी जहाजमाथि नाकाबन्दी लगाएका हुथीहरूले अन्य देशका ढुवानी वाहनमाथि पनि भन्सार उठाउन लागेको रोयटर्सले लेखेको छ । यमनको अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकारका सूचनामन्त्री मोहम्मर अल–एरियानीले यसको पुष्टि गरे । उनले यस कार्यका लागि हुथीलाई इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)’ले सघाइरहेको बताए । समाचारअनुसार भन्सार उठाउन हुथीहरूले एक समर्पित ‘निकाय’ सिर्जना गर्दै छन्, जसले ढुवानी कम्पनी र जहाजबाट भन्सार संकलन गर्नेछन् । तथापि, भन्सार कहिलेबाट उठाइनेछ, स्पष्ट छैन । यदि भन्सार उठाउन थालियो भने ‘विश्वको सबैभन्दा महत्वपूर्ण रणनीतिक समुद्री कोरिडोरमध्ये एक हुथीहरूको सैन्य र आतंकवादी गतिविधि सञ्चालन गर्ने आर्थिक स्रोत बन्ने’ यमनी मन्त्री अल–एरियानीले चेतावनी दिए ।
अन्तर्राष्ट्रिय समुद्री कानुनअन्तर्गत, स्ट्रेट अफ हर्मुज र बाब अल–मान्डेबजस्ता प्राकृतिक साँघुरो जलमार्गनजिक रहेका देशहरूले पनि आफ्नै क्षेत्रीय सीमाभित्र पर्ने भए पनि भन्सार उठाउन पाइँदैन । यद्यपि केही अवस्थामा, ‘डकिङ’ र बिमाजस्ता सेवाशुल्क लिन भने अनुमति दिइएको छ । साउदी समर्थित यमनी सरकारले इरानी उक्साहटमा हुथीहरूले भन्सार उठाउन लागेको आरोप लगाएका छन् । हुथीहरूले इरानको मोडेल नक्कल गर्न खोजेको समयमा साउदी अरबले गठबन्धनमार्फत यसलाई रोक्न खोजेको छ । तथापि, प्रयास सफल नै हुन्छ भन्ने छैन । साउदी अरबले यसअघि पनि सन् २०१५ मा केही खाडी देशको साथमा हुथीविरुद्ध ठुलो सैन्य अभियान सञ्चालन गरेको थियो । तर, ठुलो शक्तिका बाबजुद हुथीलाई नष्ट गर्ने सो अभियानको उद्देश्य पूरा भएन ।
(पत्रकार लावल भूराजनीति, द्वन्द्व र अफ्रिकामा आप्रवासनबारे कलम चलाउँछिन्)
अलजजिराबाट