ब्रोड पिक दुर्घटनाप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त, निम्स दाइलगायत दिवंगत आरोहीलाई श्रद्धाञ्जली

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार फेसबुकमार्फत शोकसन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको, तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन्।

प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको उक्त दुःखद घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै, उनले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सुझावित समाचार