कप्तानगन्ज घटना : मृतकका आफन्तले शव बुझे

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको कप्तानगन्ज घटनामा ज्यान गुमाएकाहरूका आफन्तले दाहसंस्कारका लागि अस्पतालबाट शव बुझेका छन्। विराटनगरस्थित न्युरो अस्पताल प्रशासनले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकहरूको शव उनीहरूका आफन्तलाई जिम्मा लगाएको हो।

बिहीबार राति गृहमन्त्री सुधन गुरुङसँग भएको सातबुँदे सहमतिपछि मृतक २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको शव शुक्रबार अपराह्न आफन्तले बुझेका हुन्। शव कोशी अस्पतालमा पोस्टमार्टमका लागि लगिने र त्यसपछि विराटनगरमै शोकयात्रा गरेर दाहसंस्कारका लागि कप्तानगन्ज लगिने आफन्तले बताएका छन्।

१० साउनको राति देवानगन्ज– ३ कप्तानगन्ज नयाँहाट बजारमा दुई समुदायबिच भएको झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ।

बिहीबार देवानगन्ज गाउँपालिकाले पनि मृतक परिवारलाई जनही १० लाख र घाइतेहरूलाई अवस्था हेरेर ५० हजारदेखि दुई लाखसम्म क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

सुझावित समाचार