सुनसरी जिल्लामा दुई समुदायबिच भएको झडप तथा त्यसपछिका विभिन्न जिल्लामा देखिएका प्रदर्शन र तनावपूर्ण घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै समुदायसँग अपिल गरेको छ।
प्रशासनले बिहीबार एउटा अपिल सार्वजनिक गर्दै मकवानपुरभित्र विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थामा विश्वास गर्ने समुदायबिच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले हाल देशका केही स्थानमा देखिएका घटनाजस्ता अप्रिय अवस्था मकवानपुरमा सिर्जना हुन नदिन सबै नागरिक, समुदाय तथा सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ।
यस्तै, आ–आफ्नो धार्मिक तथा सांस्कृतिक आस्थाअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बालगायत धार्मिक स्थलमा धार्मिक गतिविधि सञ्चालन गर्दा अन्य समुदायलाई असर पर्ने गरी ठुलो आवाजमा लाउडस्पिकर, माइक तथा साउन्ड बक्स प्रयोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले धार्मिक स्वतन्त्रताको सम्मान गर्दै धार्मिक गतिविधि सञ्चालन गर्दा स्थानीय बासिन्दा र अन्य समुदायको संवेदनशीलतालाई समेत ध्यानमा राख्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मकवानपुरमा शान्तसुरक्षा, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कानुनको पालना गर्न र अफवाह तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहनसमेत भनेको छ ।