नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भएको घटनाको प्रभाव कञ्चनपुरमा पनि परेको छ। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालसहित अन्य सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ।
गत शनिबार उपचारका क्रममा ४५ वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्तले चिकित्सकमाथि कुटपिट गरेपछि चिकित्सक संघले दोषीमाथि कानुनी कारबाहीको माग राखेर कञ्चनपुरमा पनि सेवा ठप्प पारेका छन्। चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड गर्नेमाथि कानुनी कारबाही नभएको विरोधमा चिकित्सक संघले मंगलबार र बुधबार सेवा बन्द गराएको हो।
अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि बिरामी भने मारमा परेका छन्। चिकित्सकहरूले सेवा ठप्प पारेर आन्दोलनमै उत्रिएपछि महाकाली प्रादेशिक अस्पतालमा समेत दुई दिनदेखि ओपिडी सेवा बन्द छ। अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर साउदले चिकित्सकको आन्दोलनका कारण ओपिडी सेवा बन्द भएकाे बताए।
‘यहाँ ओपिडीमा मात्रै दैनिक पाँच सय हाराहारी नागरिकले उपचार लिन्थे,’ उनले भने, ‘सेवा ठप्प भएपछि अस्पताल पुगेका बिरामी पनि फर्किन लागेका छन्।’
चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बन्द्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनमा साथ दिन आह्वान गरिएको छ। अर्कोतिर मृतक परिवारले भने स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्।