बजेट अभावले सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मरुवा–भदौरेमा भने डबल लेन सडकको प्रक्रिया सुरु

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

बजेट अभावका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत मिर्चैया–कटारी सडकखण्डमा निर्माणाधीन चारवटा पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन् । ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा निर्माणकार्य सुस्त बनेको छ । यता, यही लोकमार्गको सबैभन्दा जीर्ण मानिने कटारी–मरुवा–भदौरे खण्डलाई डबल लेनमा विस्तार गर्ने प्रक्रिया भने सुरु भएको छ।

सिद्धिचरण लोकमार्गअन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक आयोजना कार्यालयका अनुसार कटारी नगरपालिका वडा नम्बर २ र ३ क्षेत्रका नदीमा पर्ने गिद्धवर खोला, कल्याणपुर, ताराघारी र खोक्सा खोलालगायत चारवटा पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन ।

मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालयका इन्जिनियर सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोका अनुसार चारवटै पुल निर्माणको ठेक्का सूर्य एन्ड सन्स प्रालि, धरानले २०७९ असार २९ गते पाएको थियो। कम्पनीले २०८२ असोज २९ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि बजेट अभावका कारण लक्ष्यअनुसार काम अघि बढ्न सकेन ।

महतोका अनुसार गत आर्थिक वर्षसम्म चारवटा पुल निर्माणमा १४ करोड ४५ लाख ५७ हजार ४२१ रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्ष ०८३/८४ का लागि भने नाै करोड २० लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । ‘ठेक्काको म्याद २०८४ जेठ १९ गतेसम्म थपिएको छ,’ सूचना अधिकारी महतोले भने, ‘तर, अहिलेको बजेटले यो वर्ष पनि सबै पुल सम्पन्न हुने सम्भावना छैन । दुईवटा पुलको काम अझै करिब ५० प्रतिशत बाँकी छ । ठेकेदारले पछि भुक्तानी लिने गरी काम अघि बढाए समयमै सकिन सक्छ, अन्यथा फेरि ढिलाइ हुन्छ ।’

उनका अनुसार गत आर्थिक वर्ष पुल निर्माणका लागि आठ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । यस वर्ष बजेट बढेर नाै करोड २० लाख रुपैयाँ पुगे पनि निर्माण सम्पन्न गर्न पर्याप्त नभएको उनले बताए । चारवटै पुल निर्माणका लागि भ्याटसहित २८ करोड ९९ लाख ५२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको महतोको भनाइ छ । 

साढे २७ किलोमिटर जीर्ण सडक अब दुई लेनको बन्दै
पुल निर्माणमा ढिलाइ भइरहेका वेला सिद्धिचरण लोकमार्गकै कटारी–मरुवा–भदौरे खण्डलाई दुई लेनमा स्तरोन्नति गर्ने प्रक्रिया भने अघि बढेको छ । योजना कार्यालयका अनुसार करिब २७.५ किलोमिटर सडकलाई डबल लेनमा विस्तार गर्न तीन अर्ब ९४ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

निर्माणका लागि दुईवटा बोलपत्र आह्वान भइसकेको छ । गत असार २६ गते प्रकाशित बोलपत्रको म्याद आगामी साउन १५ गतेसम्म रहेको छ । महतोका अनुसार सडक डामर कंक्रिट मापदण्डअनुसार निर्माण हुनेछ । ‘यो खण्ड डबल लेन बनेपछि यात्रुका लागि सुरक्षित र सहज आवागमन हुनेछ,’ उनले भने ।

मिर्चैया–कटारी–घुर्मी सडकको कुल लम्बाइ करिब ७२ किलोमिटर छ । यसमध्ये मिर्चैया–कटारी खण्ड सिंगल लेन कालोपत्रे भइसकेको छ भने कटारी–घुर्मी खण्डको ४६ किलोमिटरमध्ये आठ किलोमिटर मात्रै कालोपत्रे भएको छ । डबल लेन विस्तार हुने सडक कटारी नगरपालिका– ४ को मरुवा जंगलदेखि वडा नं. १४ को लेखनी भदौरेसम्म पर्दछ । यही खण्डलाई सिद्धिचरण लोकमार्गको सबैभन्दा जीर्ण सडकका रूपमा लिने गरिएको छ । आयोजनाले आगामी वर्षहरूमा बाँकी सडकलाई पनि क्रमशः दुई लेनमा स्तरोन्नति गर्ने योजना अघि बढाएको जनाएको छ ।

०३४ मा यो सडक सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी पुगेपछि कटारी–ओखलढुंगा बाटो निर्माण भयो । ०५८ मा सिद्धिचरण लोकमार्गका रूपमा कटारी–घुर्मी सडकमा पनि यातायात सञ्चालन भयो। त्यसवेला कटारी–घुर्मी खण्डमा कालेपत्रे पिच गरिएको थियो । त्यसपछि ओखलढुंगा हुँदै सोलुखम्बु जोडिएको हो। ०५८ पछि मर्मत भएको छैन । सडक स्तरोन्नतिका लागि स्थानीयले वर्षौँदेखि माग गर्दै आइरहेका थिए ।

उदयपुर मात्र नभएर सोलुखुम्बु, ओखलढुंगा र खोटाङको पनि महत्त्वपूर्ण सडक पर्दछ । कटारी–घुर्मी खण्डले कटारीबाट नेपाललाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग, महेन्द्र राजमार्गलाई जोड्नुको साथै घुर्मीबाट मध्यपहाडी लोकमार्ग हुँदै बिपी राजमार्गबाट काठमाडौंलाई जोड्छ। 
 

सुझावित समाचार