हिमाल डेन्टल हस्पिटलले आइपिओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्। उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं तथा डा. निरन्जन आचार्यलगायतको सहभागिता थियो।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। हिमाल डेन्टल हस्पिटलले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ तथा विशिष्टीकृत सेवाहरू प्रदान गर्दै आएको छ।

दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त संस्था हो। दन्त स्वास्थ्य सेवासँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने उद्देश्यले सन् २००८ मा हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स स्थापना भएको थियो।

सुझावित समाचार