माइतीघर, जहाँ आन्दोलित छन् १७ समूह

सुकुमवासी, आवासीय चिकित्सक र पत्रकार महासंघ पनि आन्दोलनमै

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण
  • नागरिकले राज्यलाई आफ्ना पीडा, अधिकार र अपेक्षा सुनाउने देशकै मुख्य मुकाम बनेको छ माइतीघर, जहाँ लघुवित्त र सहकारीपीडित, डायलाइसिस खर्चको माग गर्नेदेखि आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रहर बोकेकासम्म आन्दोलनमा उत्रिएका छन् 

थापाथलीतर्फ जाने मोडदेखि नयाँ बानेश्वरतर्फ आउने सडकको करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ । माइतीघर चोक क्षेत्रको भौतिक आयतन यत्ति नै हो । तर, नागरिकले राज्यलाई आफ्ना पीडा, अधिकार र रहर सुनाउने देशकै मुख्य मुकाम बनेको छ माइतीघर । अहिले १७ समूह माइतीघरमा नियमित आन्दोलित छन्, जसमा लघुवित्त र सहकारीपीडितदेखि डायलाइसिस खर्चको माग गर्ने मात्रै होइन, आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रहर बोकेकासम्म छन् । 

आधाजसो समूह माइतीघर चोकको दक्षिणतर्फको सर्भिस लेन च्यापेर टेन्ट नै टाँगेर धर्ना बस्दै आएका छन् । टेन्टको वरिपरि आफ्ना माग लेखिएका ब्यानर झुन्ड्याएका छन् । दिनभर सडकमा आन्दोलन गरेपछि कोही त राति पनि त्यहीँ सुत्छन् । कोही दैनिक त्यहाँ पुगेर केही समय प्लेकार्डसहित नाराबाजी गरेर फर्किन्छन् । केही समूह दुई–चार दिन होइन, दुई–चार हप्ता पनि होइन, महिनौँदेखि निरन्तर आन्दोलनमा छन् । 

माइतीघरमा आन्दोलित १७ समूहमध्ये एक हुन् २५ वर्षीया ममता शर्मा (नाम परिवर्तन) । टेन्ट नै टाँगेर धर्ना बसेकी उनी २७ जेठदेखि आन्दोलित छिन् । तर, माग अझैसम्म पूरा हुन सकेको छैन । उनले भनिन्, ‘म जबर्जस्ती करणीबाट पीडित महिला हुँ । मेरो सात महिनाको शिशु छ, उसको जन्मदर्ता गराउन चाहन्छु र अदालतले आदेश गरेको एक लाख ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराइयोस् । तर, सरकारले मेरो माग हालसम्म पनि सुनुवाइ गरेको छैन ।’ जिल्ला अदालत सुर्खेतले गत १७ फागुनमा शिशु पालनपोषणका निम्ति सुत्केरीलाई राहत कोषबाट एक लाख ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउन आदेश दिएको थियो ।

लोकसेवा परीक्षाको तयारीमा रहेका वेला तत्कालीन प्रहरी जवान २६ वर्षीय भूपेन्द्रसिंह ठगुन्नाबाट १ जेठ ०८२ मा बलात्कृत भएको ममताको भनाइ छ । त्यही वेला गर्भ बसेपछि शिशुलाई जन्म दिएकी उनी अहिले आफू र सन्तानको न्यायका लागि माइतीघरमा छिन् । 

बिहान ठिक १० बजे बिरोधस्थलमा उपस्थित हुने, नाराजुलुस गर्ने र साँझ परेपछि डेरा फर्कने आन्दोलनकारी पनि माइतीघर मण्डलामा धेरै छन् । उनीहरूले टाँगेका बिरोधका ब्यानर सडक किनारमा रहेको रुखका फेदमुनि असरल्ल देखिन्छन् । प्ले कार्ड टाँगेर सडकमा उभिने र मन्तव्यमार्फत बिरोध प्रस्तुत गर्नेहरूको चाप उत्तिकै धेरै छ । उनीहरूले सरकारसमक्ष राख्दै आएका माग केहीबाहेक अधिकांश अस्वभाविक देखिँदैनन् । तर, सरकारले सुनिरहेकै छैन । 

जातकै कारण काठमाडौंमा कोठा नपाएर हैरानी ब्यहोरेकी दीपा नेपाली सोही मध्येकी एक हुन् । उनी प्रत्येक दिन अपराह्न ३ बजे प्लेकार्ड लिएर माइतीघर मण्डला आउँछिन् । माग लेखेका प्लेकार्ड लिएर सडकमा उभिन्छिन् । ५ बजेपछि डेरा फर्किन्छिन् । उनले राख्दै आएको माग हो– जातका आधारमा कोठा नपाउने समस्या सँधैका लागि अन्त्य होस् । तर, सरकारले उनको मागलाई नजरअन्दाज गरिरहेको देखिन्छ । 

दीपाले भनिन्, ‘म २९ जेठदेखि माइतीघरमा आन्दोलनमा छु । यस क्रममा गृहमन्त्री सुधन गुरुङ यहाँ आए । मेरो समुदायले खेप्दै आएको समस्या उनलाई सुनाएँ । तर, उहाँ मैले राखेको समस्याप्रति गम्भिर हुनु भएन । बरु, चिया खाने निम्तो दिएजसरी ‘मकहाँ आउनुस् न कुरा गरौंला नि, समस्या समाधान गरिहाल्छौं नि’ भनेर जानुभयो । सायद, उहाँले बर्षौंदेखि मानसपटलमा गढेर बसेको छुवाछुतको समस्यलाई आँकलन नै गर्न सक्नुभएन ।’

माइतीघर मण्डलास्थित सडक खण्डको सोही क्षेत्रफलभित्र आइतबारबाट दुई नयाँ आन्दोलन थपिएका छन् । त्यसमध्ये एउटा लुघवित्त तथा वित्तिय शेषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको र अर्को सहकारी तथा वित्तीय समस्या समाधान राष्ट्रिय अभियान महासंघको हो । मजदुर आन्दोलनका तर्फबाट मनिरा ज्ञवालीसहितको २५ पीडित आइतबारबाटै आमरण अनसनमा बसेका छन् । सहकारी तथा वित्तीय समस्या समाधान अभियान महासंघको तर्फबाट अध्यक्ष कुशलभ केसीसहितको टोली धर्नामा उत्रिएको छ ।

सडकमै ब्यानर टाँगेर अनसनरत ज्ञवालीले भने, ‘हामीले ०८० को चैतमा सरकारसँग ६ बुँदे सहमति गरेका थियौं । जसमा लघुवित्त पीडितको ऋण मिनाह गर्ने लगायतका बुँदा थिए । तर, त्यो माग अझैसम्म पुरा भएन । लघुवित्तले लाखौं मजदुर किसानलाई उठिबास लागायो । त्यसैले हामी आमरण अनुसन सुरु गर्न बाध्य भएका छौं । अब माग पूरा नभएसम्म घर फर्किन्नौं ।’ उनका अनुसार लघुवित्तको चर्को ब्याजका कारण मुलुकभर लाखौं किसानको उठिबास लागेको छ । लघुवित्तका कर्मचारी घरमै पुगेर मानसिक तनाव दिने गरेको उनीहरूको पीडा छ । ज्ञवालीसँगै अनसनरत कपिलबस्तु बिजयनगरका ४५ वर्षीय विद्यानिवास पुरीले अब माग पूरा नभएसम्म घर नफर्किने बताए । ‘मैले लघुवित्तबाट सात बर्षअघि सात लाख ऋण लिएको थिएँ । मैले प्रत्येक महिना ब्याज बुझाउँदै आएँ । तर, मेरो ऋण हालसम्म पनि चुक्ता भएन । मजस्तै मुलुकभर धेरै पीडित छन् । हामीले यसअघि पनि आन्दोलन गरेका थियौं । सहमति पनि भएको थियो । तर, समस्या सल्टिएन, अब माग पुरा गरेर मात्रै घर फर्कन्छौं ।’

सहकारी तथा वित्तीय समस्या समाधान अभियान महासंघमा आवद्ध पीडित भने सहकारीमा राखेको बचत फिर्ता पाउनुपर्ने माग राखेर धर्नामा छन् । साना बचतकर्ताको मात्रै रकम फिर्ता गरेर सरकारले पीडितमाथि नै विभेद गरेको उनीहरूको भनाई छ । महासंघ अध्यक्ष कुशलभ केसी भन्छन्, ‘सरकारले १० हजारभन्दा मुनिकालाई मात्रै बचत फिर्ता दिएर विभेदको काम गर्यो । ठूला बचतकर्ताले रकम फिर्ता पाउने कुनै आधार छैन । दुई दिनभित्र हाम्रो माग पुरा हुनुपर्छ भनेर हामीले आन्दोलन स्थगित गरेका छौं । माग पूरा नभए सशक्त आन्दोलन गर्छौं ।भनेर हामीले आन्दोलन स्थगित गरेका छौं । माग पूरा नभए सशक्त आन्दोलन गर्छौं ।’

माइतीघर मण्डलामा आन्दोलनरत १७ समूहको सूची जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांकमा छ । यो सूचीबाहिर पनि आन्दोलनरत समूह छन् । उनीहरू नियमित लामो आन्दोलनमा भने छैनन् ।

उनीहरूमध्ये कसैको माग राजसंस्था स्थापनासँग सम्बन्धित छ भने कतिपयले जेनजी आन्दोलनका क्रममा थुनिएकाहरूलाई रिहा गर्नुपर्ने माग गरेका छन् । २९ जेठदेखि आन्दोलनमा रहेका गणेश नेपालीले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले माइतरघर मण्डलामा आन्दोलन गर्ने समुहको संख्या ठूलो रहेको बताए । ‘माइतीघर मण्डलामा आन्दोलन गर्ने समुह धेरै छन् । २७ जेठयताको तथ्यांक हेर्दा १४ देखि १७ समुहले उक्त क्षेत्रमा आन्दोलन गरेको देखिन्छ । प्रहरीले अहिले उनीहरूलाई सुरक्षा दिने काम गर्दै आएको छ,’ उनले भने ।

सुकुम्बासी, आवासीय चिकित्सक र पत्रकार महासँग पनि आन्दोलनमै
काठमाडौंका नदी किनारबाट उठाइएका सुकुम्बासी पनि केही दिनअघिसम्म माइतीघरमा आन्दोलनमै थिए । सरकारले कुनै व्यवस्थाविना नै जिल्ला फर्काउन लागेको भन्दै उनीहरू असन्तुष्ट छन् । अहिले उनीहरूको स्क्रिनिङ भइरहेका कारण आन्दोलन स्थगित गरेका छन् । माग पूरा नभएर केही दिनभित्रै आन्दोलनमा उत्रिने आन्तरिक तयारीमा छन् ।

एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड (निर्वाहभत्ता) एकरूपता नभएको भन्दै तीन महिनासम्म लगातार आन्दोलन गरेका आवासीय चिकित्सकहरूले पनि सरकारलाई दिएका १५ दिने अल्टिमेटम सकिन लागेको छ । शुक्रबार उक्त समय सकिँदै छ, तर अहिलेसम्म माग पूरा भएको छैन । शुक्रबारसम्म पनि सरकारले सुनुवाई नगरे आन्दोलन थाल्ने आवासीय चिकित्सक डिल्ली हरिजनले बताए । एउटै इन्ट्रान्स परीक्षा (सिईई) उत्तीर्ण गरी एउटै पाठ्यक्रम अध्ययन गर्ने आवाशीय चिकित्सको निर्वाह भत्ता शिक्षण संस्थाअनुसार फरक–फरक छ । चिकित्सकको दबाबपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलमा एक महिनाअघि गठन भएको कार्यदलले चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, शिक्षण संस्था तथा सम्बन्धित सरोकारवालासँग परामर्श गरी विस्तृत प्रतिवेदन तयार गरेर शिक्षा र स्वास्थ्य मन्त्रालयमा बुझाएको छ । सो प्रतिवेदनमा एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहका मेडिकल अधिकृतले पाउने तलबको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै देशभरका सबै शिक्षण संस्थामा एउटै मापदण्डअनुसार स्टाइपेन्डको व्यवस्था लागू गर्नुपर्ने पनि प्रतिवेदनले औल्याएको छ ।

त्यस्तै, सरकारी विज्ञापन तथा सूचना वितरणमा भएको विभेदविरुद्ध नेपाल पत्रकार महासंघ पनि महिना दिनदेखि आन्दोलनरत छ । केही दिनअघि माइतीघरमै आन्दोलन गरेको थियो । सरकारी सूचनामा विभेद गर्ने सरकारी निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, निजी क्षेत्र र संघीयताको मर्मअनुकूल नरहेको निष्कर्ष निकाल्दै महासंघले यस प्रकारको विभेदकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । तर, सरकारले महासंघको आवाज सुनिरहेको छैन । पछिल्ला दिन सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोवार ऐनअन्तर्गत पत्रकारलाई धरपकड गर्ने, धम्की दिनेजस्ता कार्यहरू बढेको भन्दै महासंघले यस्ता गरिबधी जारी रहे आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ ।

आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेर पनि धर्ना
दाङ घोराहीका गणेशी गिरीको माग अन्य आन्दोलनकारीको भन्दा फरक छ । २७ जेठदेखि धर्नामा बसेका उनले आफुलाई मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै नियुक्त गर्न माग गरेका छन् । आफु सनातन धर्मको अनुयायी र योगी पनि भएको हुँदा योगी व्यक्ति नै अबको प्रधानमन्त्री हुनुपर्ने उनको माग छ ।

उनको प्ले कार्डमा लेखिएको छ, ‘अब देश सनातन धर्मले मात्र चल्छ । योगी प्रधानमन्त्री हुनुपर्छ । आमदेशबासीमा चेतना होस् । पदबहाक अभियन्ता ओमकार परिवगार श्री गणेश गिरी योगी ज्यु आसन्न प्रधानमन्त्रीको दाबेदार माइतीघर मण्डलामा धर्नारत । दाङ घोराही हिमाल, पहाड, तराई, कोही छैन पराइ ।’

धर्नामा बसेकाहरू कसको के माग ? कोही चार महिनादेखि छन् माइतीघर सडकमा

१. जबर्जस्ती करणी (जक)पीडित (८ चैत ०८२ देखि)– आरोपी कर्ण मल्ललाई कारबाही ।

२. देविका खनाल (२६ वैशाखदेखि)– २२ फागुन ०८१ मा सुनसरीको रामधुनी नगरपालिका– ३ मा दुर्घटना गराएको आरोप लागेका इनरुवा नपा– ६ का वडाध्यक्ष सुमन थापालाई कारबाही ।

३. जकपीडित (२६ वैशाखदेखि)– आरोपी प्रमोद मैनालीलाई कारबाही ।

४. देवसरा भण्डारी, नवराज गुरुङ, अञ्जना श्रेष्ठ (३२ वैशाखदेखि)– जेन–जी आन्दोलनका थुनुवा मुक्त गर्नुपर्ने ।

५. रमिला कार्की (९ जेठदेखि)– सुमेरु सहकारीका सञ्चालकलाई पक्राउ ।

६. लक्ष्मी सिंह (२६ जेठदेखि)– डायलाइसिस खर्च चाहियो ।

७. जकपीडित (२७ जेठदेखि)– शिशुको जन्मदर्ता र राहत माग ।  

८. माया पाण्डे (२७ जेठदेखि)– राजसंस्था, हिन्दुराष्ट्र माग ।

९. उमाकुमारी महतो (२८ जेठदेखि)– ठगीमा निर्मला मैनाली र निसान मैनालीलाई कारबाही ।

१०. कृष्णमाया उप्रेती (२९ जेठदेखि)– नेत्रप्रसाद तिमेल्सेनाबाट पीडित भएकाले न्याय चाहियो ।

११. डा. रोशनी नेपाली (२९ जेठदेखि)– बादी समुदायलाई अपमानित गरेको भन्दै लालीबजार फिल्मविरुद्ध ।

१२. रेखा हमाल (२९ जेठदेखि)– कालुराम चौधरीलाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध ।

१३. दीपा नेपाली (२९ जेठदेखि)– जातका कारण कोठा नदिने प्रवृत्तिविरुद्ध ।

१४. गणेश गिरी (२९ जेठदेखि)– आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ।

१५. पुष्पमाया कार्की (२९ जेठदेखि)– सञ्चालक पंकज बस्नेतबाट होमस्टेबाट निकालिएको भन्दै धर्ना ।

१६. मनिराम ज्ञवाली (१२ साउनदेखि)– लघुवित्तपीडितलाई न्याय देऊ ।

१७. कुशलभ केसी (१२ साउनदेखि) सबै सहकारी बचतकर्ताको रकम फिर्ता गर ।

See More On

सुझावित समाचार