उत्तरपुस्तिका परीक्षणमा बोर्डको लापरबाही : पुनर्योगले सच्यायो कक्षा १२ का ७४७ ननग्रेडेड विद्यार्थीको नतिजा

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

कक्षा १२ का विद्यार्थीको पुनर्योग (रिटोटलिङ)को नतिजाले उत्तरपुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरबाही हुने गरेको देखाएको छ । बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजाअनुसार कक्षा १२ का ७४७ विद्यार्थीको नतिजा सच्याइएको छ । अर्थात् अनुत्तीर्ण (ननग्रेडेड) भनेर नतिजा आएका ती विद्यार्थीको पुनर्योग गर्दा उत्तीर्ण (ग्रेडेड) नतिजा आएको छ ।

यसपटक प्रकाशित नतिजा चित्त नबुझेपछि ३३ हजार २ सय विद्यार्थीले सच्याउन आवेदन दिएका थिए । त्यसमध्ये ७४७ (२.२३ प्रतिशत) नतिजा सच्चिएको बोर्डका कक्षा ११–१२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । तर, यसमा बोर्डको गल्ती नरहेको उनको भनाइ छ । ‘यो हाम्रो कारणले होइन, विद्यालयकै लापरबाहीका कारण भएको हो । शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा गम्भीर त्रुटि गरेका छन् । यो प्राविधिक समस्या होइन, पूर्ण रूपमा मानवीय त्रुटि हो,’ उनले भने, ‘उत्तरपुस्तिका जाँच्दा हतार गर्ने, नम्बर जोड्न छुटाउने, कुनै पाना जाँच्न छुटाउने, कपीको बाहिरी पानामा पोस्टिङ नगर्ने तथा मार्कस्लिपमा नम्बर प्रविष्ट गर्दा गल्ती गर्नेजस्ता लापरबाही भएका छन् । यसले विद्यार्थीले अनाहकमा दुःख र अन्याय व्यहोर्नुपरेको छ ।’

उनका अनुसार गत वर्ष पनि पुनर्योगका लागि ४० हजार निवेदन परेको थियो । तीमध्ये ९९२ जना विद्यार्थीको नतिजा सच्याइएको थियो । त्यसवेला पनि राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षणकै क्रममा भएको त्रुटिका कारण नतिजा संशोधन गर्नुपरेको निष्कर्ष निकालेको थियो । यस वर्ष पनि उही प्रकारको गल्ती दोहोरिएको देखिएको छ ।

यसपटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नतिजा छिटो सार्वजनिक गर्ने उद्देश्यले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएका थिए । सोही व्यवस्थाअनुसार करिब ४० दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।

नतिजा सार्वजनिक भएपछि आफूहरूको नतिजामा त्रुटि भएको भन्दै ३३ हजार २०० विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए । ती सबै निवेदनमाथि करिब एक महिना लगाएर पुनर्योग गरिएको हो । बोर्डले नजितामा चित्त नबुझे आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकेको थियो ।

पुनर्योगबाट ग्रेडेड हुनेमध्ये सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा ३२, अंग्रेजीमा ८४, केमेस्ट्रीमा ७८, नेपालीमा ५० जना, गणितमा ७१, एकाउन्टमा ५९, फिजिक्समा ७२, बायोलोजीमा ४२ र कम्प्युटर साइन्समा ३३ जना विद्यार्थी छन् । यसबाहेक अन्य केही विषयमा पनि विद्यार्थीको नतिजा सुधार भएको बोर्डले जनाएको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार नतिजामा देखिएको त्रुटिको मुख्य कारण परीक्षा बोर्डको व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण प्रक्रिया नै हो । ‘मुख्य समस्या भनेको उत्तरपुस्तिका जाँच्ने र प्राप्तांक चढाउने चरणमै हुने गल्ती हो,’ उनले भने, ‘परीक्षा बोर्डले प्राप्तांक प्रविष्टि गर्दा दोहोरो परीक्षण अनिवार्य गर्नुपर्छ । यस्ता त्रुटि समय अभावका कारण मात्र होइन, लापरबाही र हेलचेक्याइँका कारण पनि हुने गर्छन् । समय कम भएकै कारण भनेर मात्रै उम्किन मिल्दैन ।’ उनले विगतको अभ्यास स्मरण गराउँदै थपे, ‘पहिले नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्थ्यो । यसपटक भने एक महिनामै नतिजा सार्वजनिक गरियो भनेर हल्ला त भयो । तर, परिणामस्वरूप त्रुटि देखिए ।’

राष्ट्रिय परीक्षा बोर्डले ५ असारमा कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । जसअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । १४ वैशाखदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए ।

मौका परीक्षाको नतिजा २५ साउनभित्र प्रकाशन हुने 
कक्षा १२ मा मौका परीक्षा दिएकाहरूको नतिजा २५ साउनभित्र प्रकाशन गर्ने तयारी गरिएको छ । अनुत्तीर्ण भएपछि ७३ हजार विद्यार्थीले मौका परीक्षा दिएका थिए । उक्त परीक्षा २ र ३ गते असारमा भएको थियो । बोर्डले छिटो नतिजा प्रकाशनका लागि कापी परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

एसइईको नतिजामा पनि त्रुटि, एक हजार ८७९ विद्यार्थी 
यस वर्ष एसइईको पुनर्योग (रिटोटलिङ) मा पनि ठुलो संख्यामा विद्यार्थीको नतिजा सच्चाइएको थियो । बोर्डका अनुसार एसइईको पुनर्योगका लागि ३३ हजार ८५१ विद्यार्थीले आवेदन दिएकामा एक हजार ८७९ विद्यार्थीको नतिजा सच्चिएको छ । प्राविधिक तथा बोर्डको लापरबाहीले नतिजा बिग्रिएको भन्दै विद्यार्थीहरूले सच्याउन माग गर्दै आवेदन दिएका थिए । बोर्डले आवेदनकर्ताबाट एक करोड ६९ लाख २५ हजार पाँच सय रुपैयाँ आम्दानीसमेत गरेको थियो । 
 

सुझावित समाचार