कानुनी सुधारविनाको विकास सम्भव छैन : मन्त्री गौतम

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

 कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन बलियो कानुनी आधार अपरिहार्य रहेको बताएकी छिन्। विगतमा कानुनी जटिलताका कारण विकास आयोजनाहरू प्रभावित भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले आवश्यक कानुन निर्माणलाई उच्च प्राथमिकतामा राखेर सुधारका काम अघि बढाएको बताइन्।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले देश निर्माणका लागि लक्ष्य निर्धारण मात्र पर्याप्त नहुने, त्यसअनुसारको कानुनी वातावरण पनि सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरिन्।

उनले सरकारले विकास निर्माणसँग सम्बन्धित आवश्यक कानुनहरू निर्माण गरिसकेको दाबी गर्दै अब विकासका कामलाई तीव्रता दिने वातावरण तयार भएको बताइन्।

मन्त्री गौतमले पार्टी कार्यकर्तालाई व्यक्तिगत स्वार्थका विषयभन्दा जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारसमक्ष प्रस्तुत हुन आग्रह गरिन्। जनहितका मुद्दामा सरकार गम्भीर र समाधानमुखी ढंगले काम गरिरहेको उल्लेख गर्दै उनले नागरिकका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताइन्।

'तपाईंहरूलाई जे समस्या परे पनि हामी छौँ। व्यक्तिगत विषयभन्दा जनताको हितका सवाल लिएर आउनुहोस्। ती समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रयत्नशील छ,' मन्त्री गौतमले भनिन्।

सुझावित समाचार