जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ सेवाग्राहीलाई घरैमा पुगेर राहदानी वितरण गरेको छ। हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरैमा राहदानी वितरण सेवा’अन्तर्गत जिल्लाका सातै पालिकाका सेवाग्राहीहरूको घर–घरमा पुगेर राहदानी वितरण गरिएको हो।
नेपाल सरकारले सेवाग्राहीलाई सेवा लिनका लागि कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमा नै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।
नेपाल सरकारको ‘घरैमा राहदानी वितरण सेवा’ नीतिअनुरूप हुलाक सेवा विभागमार्फत जिल्लाका सबै स्थानीय तहका नागरिकहरूलाई आवश्यक सेवा दिइएको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले बताए।
धनकुटामा हालसम्म विभिन्न स्थानमा ८ पटकमा १६६ जनालाई घरैमा पुगेर राहदानी वितरण गरिएको छ। सरकारले ‘घरैमा राहदानी वितरण सेवा’ सञ्चालन गरेसँगै जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख श्रेष्ठले बताए।
‘घरैमा राहदानी वितरण सेवा’ सञ्चालनका लागि सेवाग्राहीको घरैमा राहदानी पुर्याउन गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला हुलाक कार्यालय धनकुटाबिच सम्झौता भएको थियो। सोही सम्झौताअनुसार जेठ १ गतेबाट उक्त सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय धनकुटाले जनाएको छ।
हुलाक सेवामार्फत घरैमा राहदानी पुगेपछि सेवाग्राहीको खर्च र समय दुवैको बचत भएको छ। विशेष गरेर ग्रामीण क्षेत्रका नागरिकहरूलाई लक्षित गरी ‘घरैमा राहदानी वितरण सेवा’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले बताए।