नागरिक नेताको सम्झनामा

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण
  • डा. देवेन्द्रराज पाण्डे भन्नुहुन्थ्यो– अर्थतन्त्रमा स्वावलम्बन भएन भने देशको स्वाभिमानमा आँच आउँछ । अहिले सोचिरहेछु, ‘हाम्रो स्वाभिमान बाँच्ने ठाउँ नेतृत्वले खोइ कहाँ राखे र ?’

साउने संक्रान्तिको राति । घडीले ९:३० बजाएको थियो । झरीमा लपक्कै भिजेर तीनजना भतिज नरेन्द्र, उमेश र धीरज आइपुगे । उनीहरू सरप्राइज दिने मनसायले खबर नगरी मलाई सघाउन घर आइपुगेका थिए । खानेपिउने बन्दोबस्ती आदिका कारण हामी ढिला हुन पुगेका थियौँ । धीरजले (कान्छो भतिज) डाटा चलाएर समचार हेरेछ । रातको साढे दश बजेतिर भन्यो, ‘काका, पाण्डे डाक्टर साब त बित्नुभएछ ।’

खेतको हिलो आलीबाट अशक्त हुने गरी थाकेको शरीर यो अपत्यारिलो समाचार सुनेर झन् शिथिल हुन पुग्यो । म गाउँ फर्केयता डा. साबसँग आक्कलझुक्कलबाहेक कुराकानी हुन पाएको थिएन । शरीर वृद्ध भए पनि मन चंगा भएका डा. पाण्डेले यति छिटै हामीलाई छाडेर जानुहोला भन्ने सोचेको थिइनँ । उहाँको उज्यालो अनुहार सम्झेर मनभित्र सम्झनाका बुँदागत पत्र खुल्दै गए । डा. पाण्डेसँग बिताएका क्षण र उहाँसँग भएका अन्तरंग बातचित सम्झँदै जाँदा रन्थनिएँ ।

०००

डा. पाण्डेसँग मेरो एकोहोरो चिनजान थियो । जनमत संग्रहताका पञ्चायतकालका सर्वशक्तिमान प्रधानमन्त्री सूर्यबहादुर थापाको अनुचित दबाबपछि अर्थ मन्त्रालयको सचिव पदको राजीनामा पत्र उनका हातमा थमाएर डा. देवेन्द्रराज पाण्डे मन्त्रालयबाट बाहिरिएका थिए । त्यस कार्यले त्यो समयका बहुदल पक्षधरमा हौसला बुलन्द हुन पुगेको थियो । जनमत संग्रहमा सुधारिएको पञ्चायतलाई जिताइयो । हामी ०३५/३६ को विद्यार्थी आन्दोलनमा होमिएका केही विद्यार्थी प्रशासनका नजरमा तारो बनेका थियौँ । त्यही भएर पढ्नका लागि जोगिन धरानबाट काठमाडौं पुगियो । तर, ठुलो ठाउँमा त झन् भित्ताका ठुला आँखा र ठुला कान दुवै हुने रहेछन् । पक्राउ परेर जेलको हावा खान पुगियो । ०३७ देखि ०४६ का नौ वर्षमा पटक–पटक गरी ६ वर्ष म जेलमा रहनुपरेकाले पनि होला डा. पाण्डेसँग साक्षात्कार हुन पाएन । ०४६ को पहिलो जनआन्दोलनमा हामी पहिल्यै पक्राउ परेकालाई सिन्धुपाल्चोक र रसुवा जेल सरुवा गरेपछि डा. पाण्डे भद्रगोल जेल आउनुभएछ । दोछल पर्यो भेट भएन, तर डा. पाण्डेका वैचारिक लेखरचना, खासगरी (अर्थराजनीतिबारे) सेमिनार पेपरको संक्षेप, जो अखबारमा छापिन्थे र जेलमा पढ्न पाइन्थ्यो । पढेपछि उहाँलाई भेट्न मनमा एक प्रकारको लालसा उत्पन्न भएको थियो ।

संयोग त्यस्तै पर्यो । पहिलो अन्तरिम सरकारका पालामा उहाँ अर्थमन्त्री हुनुभयो, म भने बहुदल आएको सन्देश सुनाउन राजनीतिक कार्यकर्ताका रूपमा गाउँ फर्किएँ र जिल्लामा दश वर्ष राजनीतिमा समय व्यतीत गरेँ । म संलग्न भएको पार्टी एमाले विभाजन भयो । म मालेतिर आबद्ध भएँ, तर यसको राजनीति थिग्रिन सकेन र पुनः एमालेमै माले समाहित हुन पुग्यो । साथीहरू फर्किए पनि मलाई एमाले हुन मनले दिएन । पार्टीभित्र हुर्कंदै गरेको गलत संस्कार, संस्कृति तथा सिद्धान्तहीनताका कारण पार्टीप्रति मेरो मोहभंग भएको थियो । मैले आफ्नो जीविकाका लागि लेखनवृत्तिलाई अलि बढी घनीभूत बनाएँ र औपचारिक अध्ययन अघि बढाउने कोसिस गर्न थालेँ ।

माओवादी जनयुद्ध रफ्तारसाथ विस्तार हुँदै थियो । मालेबाट एमालेमा नफर्किएका साथीहरू माओवादी बनेर सहादत प्राप्त गरिरहेका थिए । म आफू भने त्यस युद्धबाट प्रभावित हुन सकिरहेको थिइनँ । यसरी बसिरहेको समयमा ‘नेशाक’मा क्रियाशील मित्र अनिल भट्टराईले (हाल क्यानडा) अनामनगर अफिसमा डा. पाण्डेसँग भेट गराउन लिएर गएँ ।

सन् १९९८ को कुरा हो । डा. पाण्डेको नेतृत्वको (चैतन्य मिश्रसहित) टिमले नेपालको पहिलो मानवअधिकार प्रतिवेदन तयार पारेको थियो र प्रकाशित हुने क्रममा थियो । त्यसैले, उहाँका लागि अलि बढी फुर्सदिलो भएको समय हुनुपर्छ भन्ने मलाई लाग्यो र मैले अनिलजीसँग भेटघाट मिलाउन अनुरोध गरेको थिएँ । मेरा लागि उहाँले एक घण्टाको समय छुट्याउनुभएको रहेछ । तर, अनिलजीसहित हामीले दुई–दुई कप चियासँग दुई घण्टा सजिलै बितायौँ ।

उहाँले विविध विषयमा मलाई सोध्नुभो । मैले आफूले जानेको छिपछिपे ज्ञान भट्याएँ । जस्तो– कसरी र के उमिद लिएर कम्युनिस्ट बन्यौ ? जेल कसरी बस्यौ ? गाउँमा (जिल्लामा) गएर के–के गर्यौ ? बहुदल आएपछिको १२ वर्षमा के भएजस्तो, के नभएजस्तो लाग्यो ? थप कसरी अगाडि बढ्ने सोचेका छौ ? आदि । मैले आफूले पढेको, जानेको, भोगेको आधारमा निर्भीकतापूर्वक आफ्ना कुरा राखेँ ।

‘उहाँले म कम्युनिस्टचाहिँ होइन नि, भ्रममा नपर्नुहोला,’ भनेर कुराको थालनी गर्नुभो । मैले भनेँ, ‘म यति कुरा बुझ्छु डा. साब । म तपाईंलाई ३६ सालदेखि एकतर्फी रूपमा चिन्छु । जेलमा प्रदीप गिरी दाइले तपाईंका सोच र लोकतन्त्रप्रति तपाईंको आस्था र विश्वासबारे धेरै कुरा भन्नुभएको थियो । तपाईंका दुइटा किताब, अन्तर्वार्ता र सेमिनारमा प्रस्तुत गरेका पेपर पनि पढ्ने अवसर पाएको छु । कति बुझेँ, कसरी बुझेँ मेरो आफ्नै ल्याकत कमजोर होला, तर तपाईंलाई बुझ्ने मेरो कोसिस जारी छ । तपाईंका कुरामा थोरै विमति र धेरै सहमति राख्छु ।’ मैले यति प्रस्ट्याएपछि हाम्रो कुराको सिलसिला सुरु भयो ।

मेरो र उहाँको बिचमा कम्युनिस्ट आन्दोलनको उत्थान र विस्तारलाई हेर्ने दृष्टिकोणमा केही भिन्नता थियो । उहाँ लिबरल डेमोक्रेसीमा विश्वास गर्नुहुन्थ्यो । तर, नेपाली अर्थतन्त्रको विकास प्रक्रिया वास्तविकतामा अनुदार बन्दै गएको, असमानता, अराजकता र भ्रष्टाचारको अभिवृद्धिले चिन्तित हुनुहुन्थ्यो । जुन कुरा उहाँले आफ्ना दुवै किताबमा प्रस्ट ढंगले उल्लेख गर्नुभएको छ । उहाँ सैद्धान्तिक रूपमा मिश्रित अर्थतन्त्रसहितको लोककल्याणकारी राज्यको अवधारणा आत्मसात गर्नुहुन्छ भन्ने मैले बुझेको थिएँ । तर, मेरो छिपछिपे बुझाइका आधारमा उत्पादन पद्धतिमै ठुलो परिवर्तन हुँदै गएकाले नेपाली अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता पर्ला कि भनेर राय व्यक्त गरेँ । हामीले राजनीति, अर्थतन्त्र र पार्टीहरूभित्र हुर्कंदै गरेको अपसंस्कृतिबारे थप चर्चा पनि गर्यौँ ।

उहाँले सञ्चो मानेर, घरीघरी मेरो अबोध बकपत्रमाथि ठट्यौली गर्दै कुरा सुन्नुभो र भन्नुभो, ‘हरिजी म त्यति धेरै राजनीति बुझ्दिनँ । तपाईंले मलाई आफ्नो राजनीतिक अनुभव सेयर गर्नुभो, खुसी लाग्यो । ल भेट्दै गरौँ ।’ अनि हामी छुट्टियौँ ।

म राजनीति बुझ्दिनँ भन्ने वाक्य सुन्दा भने मलाई डा. पाण्डेले उल्याएजस्तो लाग्यो । म त्यस बेलुका अनिलजीसँगै बसेँ । डा. पाण्डेसँगको हाम्रो बातचितबारे समीक्षा गर्यौँ । लामो संगत गर्नुभएका अनिलजीले मलाई उहाँको ठट्टा गर्ने बानी बताउनुभो । यो पहिलो भेटको केही समयपछि हाम्राबिच केही बातचित, केही छलफल हुँदै रहे । उहाँकै सौजन्यमा साउथ एसियन ह्युमेन राइट्स कन्फरेन्समा कम जम्बुरीमा उहाँले नेपाली ठुलो टिमलाई नेतृत्व गरेर राजस्थानको इमराना फोर्टको र पाकिस्तानको लाहोरमा मलाई पनि सामेल गर्नुभो । पाकिस्तानकी मानवअधिकारकर्मी अस्मा जहाँगिर तथा भारतीय पूर्वप्रधानमन्त्री इन्द्रकुमार गुजराल तथा नेपालका डा. पाण्डे त्यस आयोजनाका प्रमुख हुनुहुन्थ्यो ।

०००

मेरो किताबी अध्ययन अत्यन्त साँघुरो थियो । केही कम्युनिस्ट साहित्य, पाठ्यपुस्तकका रूपमा नवशास्त्रीय अर्थशास्त्र, रुसी र चिनियाँ मार्क्सवादी अर्थशास्त्रका केही पुस्तकको अध्ययन र दश वर्ष जिल्लामा बसेर पार्टी राजनीति गरेको अनुभव नै मेरो बुद्धिको स्रोत थियो । विधिवत् रूपमा पार्टीबाट म अलग भइसकेर काठमाडौंमा स्वअध्ययनमा दुई वर्ष बिताए पनि सिलसिलेबार विधि तथा प्रक्रियागत पढाइमा म अत्यन्त कमजोर थिएँ । त्यसमाथि अंग्रेजी भाषा र साहित्यमाथिको पकड कमजोर थियो । त्यही भएर मैले अनिलजीको सल्लाहमा सन् २००१ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा आफ्नो अध्ययन बढाउने निधो गरेँ र म त्यसतर्फ लागेँ ।

नवउदारवादी बजारले समग्र अर्थतन्त्रलाई छिट्छिटो गाँज्दै लैजाँदा व्यक्तिवादको तीव्र विकास र विस्तार हुँदै थियो । सत्तारुढ भएको एक दशक नबित्दै पार्टी संगठन सिद्धान्तहीन, कार्यक्रमविहीन मौकापरस्त भिडतन्त्रमा परिणत हुँदै थिए । भ्रष्टाचार, नातावाद, कृपावाद, निजीकरण, उदारीकरणले राजकीय र संवैधानिक संस्था खिइने क्रम तीव्र बनिरहेको थियो । बजार अर्थतन्त्रका कारण कृषि जीविकोपार्जनमुखी पनि रहन सकिरहेको थिएन । बजारले औद्योगीकरण होइन, तीव्र मर्कान्टियालिजमतर्फ अर्थतन्त्रलाई डोर्याइरहेको थियो । रोजगारी शून्य बन्दै गइरहेको थियो । यी सारा क्रियाकलापले संसदीय राजनीतिक पार्टीहरू खोक्रिँदै गएका थिए भने अर्कोतर्फ माओवादीले जनयुद्धका नाममा गृहयुद्ध विस्तार गर्दा समाज भत्किँदै गइरहेको थियो । यही मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्रले देउवामार्फत सत्ता हात पारे । पार्टीहरूले राजाको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्न खोजे, तर आमजनसमुदायले तिनलाई पत्याएनन् । यसले २०३६ सालदेखि लोकतान्त्रिक पद्धतिको संवर्द्धनका लागि लागिपरेका डा. पाण्डेजस्ता लोकतन्त्रवादी चिन्तित हुनु अस्वाभाविक थिएन । खासगरी माघ १९ पछि देश अँध्यारो सुरुङतर्फ अनिश्चितकालका निमित्त प्रवेश गरेझैँ लाग्थ्यो ।

०००

‘अलि फुर्सद मिलाउनु है हरि । म दिल्ली आउँदै छु ।’ विजी सेड्युल लिएर डा. साब जंगपुरा आइपुग्नुभयो । ख्यातिप्राप्त वकिल प्रशान्त भूषणले हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउँदै एउटा सिंगै घर आवासका लागि उपलब्ध गराउनुभएको थियो । कुनै समय हिमाल साउथ एसियाका सम्पादक रहनुभएका थोमस मेथ्यु र विदुषी वेला मल्लिक दम्पतीले त्यहीँ बसेर हाम्रो आन्दोलनलाई सहयोग पुर्याइरहनुभएको थियो ।

डा. साब आउनुभएपछि समय मिलाएर (डा. महेश मास्के, दिनेश प्रशाईंसहित) पालैपालो हामीलाई लिएर भारतीय राजनीतिककर्मीसँग कुराकानी गर्ने व्यवस्था भयो । मलाई सम्झना भएबमोजिम हामीले क्रमशः पूर्वमन्त्री तथा समाजवादी नेता सुरेन्द्र मोहनजी, नेस्नालिस्ट कांग्रेस नेता डिपी त्रिपाठी, प्रोफेसर अरुणकुमार, सिपिएम नेता कामरेड सीताराम यचुरी, सिपिआई नेता कामरेड डी. राजा, सिपिआई (एमएल) नेता कामरेड दिपांकर भट्टाचार्य, कांग्रेस आईका नेता आनन्द शर्मा र अशोक गेलहत तथा पूर्वप्रधानमन्त्री विश्वनाथप्रताप सिंहसँग भेटेर कुराकानी गर्यौँ । साउथ ब्लकका अन्य सरकारी कर्मचारीसँग डा. साब एक्लै पनि भेट्नुभयो । आफ्नो मुलुकको प्रतिष्ठामा कुनै पनि आँच नआउने गरी मर्यादा कायम राख्दै विदेशीसँग कसरी कुरा राख्नुपर्छ भन्ने कुरा मैले त्यो वेला डा. पाण्डेबाट सिक्ने अवसर पाएँ ।

फुर्सदको समय मिलाएर मैले उहाँलाई आफ्नै प्रकारको भूमिका बाँध्दै भनेँ, ‘हामी कथित कम्युनिस्टहरू त भारतीय विस्तारवाद भनेर हुर्कियौँ । लाखौँ नेपाली आफ्नो जीविकाका लागि, धर्म कमाउन, पठनपाठन र उपचारका लागि भारत नै आउनुपर्ने परिस्थिति विद्यमान छ । भारतीय नेता, उद्यमी, प्रोफेसर, विद्यार्थी, सहकर्मी, डाक्टरदेखि ड्राइभरसँग संगत गर्नु छ । लोकतान्त्रिक आन्दोलनका लागि उनीहरूको ऐक्यबद्धता खोज्नु छ । यो दोहोरो भूमिका कता–कता अटपटाजस्तो लाग्छ । कसरी सन्तुलन खोज्ने ?’

‘बाहिर सत्तोसराप गर्ने, भित्र मुन्टो जोत्ने,’ डा. साबले भन्नुभो, ‘यस्तो गर्नु कूटनीति पनि होइन, एउटा असल छिमेकीले राख्नुपर्ने सम्बन्ध पनि होइन ।’ डा. साबले प्रस्ट पार्दै थप्नुभो, ‘म भारतविरोधी नेपाली राष्ट्रवादको विपक्षमा छु । तर, हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने भारतीय संस्थापन पक्ष छिमेकीप्रति कस्तो व्यवहार गर्छ ? आफ्नो मात्र राष्ट्रिय हित र स्वार्थ हेर्छ कि सामूहिक स्वार्थ, यसबारे विचार पुर्याउन जरुरी छ । मलाई लाग्छ अधिकांश भारतीय नेता आफ्नो देशको स्वार्थ हेर्छन् र नेपाललाई स्थायी प्रकृतिको बजार मात्र बनाउन कोसिस गर्छन् । त्यसैले, चनाखो भएर जन सम्बन्ध बलियो बनाउन जरुरी छ ।’

मैले बिचमा कुरा थपेँ । भारतीय बुद्धिजीवी, खासगरी सेन्टर फर दि स्टडी अफ डेभलोपिङ सोसाइटी (सिएसडिएस) मा आबद्ध बुद्धिजीवीहरू, जो नेपाललाई असाध्य माया पनि गर्थे, गर्छन् पनि । जस्तो– रजनी कोथारी, डि.एल. सेठ, स्व. प्रफुल बिद्वई, योगेन्द्र यादवजस्ता दिग्गजसँगको एउटा सामूहिक भेटघाटको अवसरमा भएका कुरा र सल्लाहबारेको संस्मरण डा. साबलाई सुनाएँ । उहाँको झन्डै एकै मतबारे मलाई भन्नुभएको थियो, ‘भारतीय शासक, खासगरी नयाँ पिँढीका उद्योगी व्यापारी र डिप्लोमेटहरू तथा शासक मण्डलीको (त्यतिवेला बिजेपी हराएर कांग्रेस पावरमा आएको थियो) प्रायोरिटीमा नेपाल पर्न छाडेको छ । तपाईंहरूजस्ताले इंगेज गर्न सिक्नुपर्छ र सक्नुपर्छ । उनीहरूलाई नेपाललगायत दक्षिण एसियाली मुलुकहरू आफ्नो प्रभावबाट नबाहिरिऊन् भन्ने मात्र छ । त्यसैले तपाईंहरूजस्ताले दुई देशका जनता (पिपुल्स टु पिपुल्स रिलेसन) बिचको सम्बन्ध विस्तार गर्न आवश्यक छ । त्यो भनेको पत्रकार, प्रोफेसर, लेखक, ओपिनियन मेकर, राजनीतिज्ञ सबैसँग । ब्युरोक्र्याट्स, सरकारी इन्टेलिजेन्स एजेन्सिज आदिसँग मात्र राज्यको भूमिका निर्भर हुन थाल्ने हो भने सम्बन्ध अस्थिर बन्न पुग्छ । अविश्वास बढ्न थाल्छ ।’

०००

बाह्रबुँदे सम्झौता भयो । आन्दोलन भयो । शान्ति सम्झौता भयो । हामी आआफ्नो सुसेधन्दामा सामेल भयौँ । यस्तै–यस्तै कामकुरामा अल्मलिएर मेरो पढाइको कडी टुटेको थियो । मेरा समस्या गनिसाध्य थिएनन् । छोरीको गार्जेनसिप निभाउनुपर्ने, आफैँ विद्यार्थी भएकाले खर्चबर्चको जोडजाम गर्न एक मात्र पेसा अखबारी लेखन पनि धान्नुपर्ने अनि आन्दोलनलाई पनि सहयोग गर्नुपर्ने । मेरो हालत थियो ।

त्यहीवेला डा. साबको काठमाडौंबाट फोन आयो, ‘तिमीलाई फोनमार्फत प्रस्ताव आउँछ । नाइँ नभन्नू ।’ दुई शब्दको यो सन्देशको अर्थ नबुझ्दै फोन काट्नुभो । नभन्दै केही दिनपछि प्रचण्ड र बाबुरामको पालैपालो फोन आयो, अन्तरिम संसद्मा आउन । मैले आउन इन्कार गरेँ र भनेँ, ‘म पढाइ नसकी आउँदिनँ ।’ तर, पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको समेत सन्देश पाएपछि ठुलो पल्टिन मिलेन र म आएँ । वास्तवमा म त्यस मनोनीतको हकदार थिइनँ । काम र आन्दोलनमा सहभागी भएका हिसाबमा हकदार नागरिक आन्दोलनका अरूहरू नै हुनुहुन्थ्यो । संविधानसभाको चुनाव हुनु ठिक दुई महिनाअघि नागरिक आन्दोलनका केही सिनियर र जुनियर हस्तीले मलाई राजीनामा दिन दबाब पनि दिएका थिए । तत्कालीन सत्ता, माओवादी आदिका क्रियाकलापबारे डा. पाण्डेलाई चित्त बुझेको थिएन भन्ने मैले बुझेको थिएँ । तर, मैले मानिनँ । पदलोलुप भएर होइन, आफ्नो आस्था र एथिक्स हुन्छ र ऐन–मौकाका कुरा पनि हुन्छन् भनेर मैले इन्कार गरेँ । अलि–अलि सम्बन्धमा अमिलोपन आएकोजस्तो भयो ।

संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो । सरकार बन्यो र डा. बाबुराम भट्टराईले बजेट ल्याउने भए । डा. पाण्डेलाई र मलाई एकैचोटि एउटै समयमा उनले सल्लाहका लागि बोलाएका रहेछन् । म फ्याङ्ल्याङ–फ्याङ्ल्याङ पुतलीसडकमा हिँडिरहेका वेला डा. साबले मोटरको हर्न बजाउनुभयो र हिँड भन्नुभो । हामी भट्टराईको अफिसमा पुग्यौँ । लामो छलफल भयो । डा. साबले नै पहिला कुरा राख्नुभो । अर्थतन्त्रको दिशा र दसाबारे, स्रोत र साधन परिचालनबारे, कर र करका लुपहोल्सबारे, संस्थाहरू र संस्थागत परिपाटीबारे बृहत् व्याख्यासहित । उहाँले अति सूक्ष्मभन्दा सूक्ष्म कुरामा ध्यान दिन अह्राउनुभयो । डा. साबको कुरा मैले मन्त्रमुग्ध भएर सुनेँ । डा. भट्टराईले अन्तमा ‘थपथाप केही छ हरिजी ?’ झारा टार्ने हिसाबले सोध्नुभो ।

मैले चारवटा बुँदा राखेँ । पहिलो त तपाईंहरूले गर्नुभएको जनयुद्धका सिपाही, मिलिसिया, बेपत्ता परिवार, सहिद परिवार, शुभेच्छुक र शुभचिन्तक को हुन्, केलाउनुस् र तिनका लागि तपाईंको पार्टीको सरकारको जिम्मेवारी के हो आफैँ बुझेर तिनको पक्षमा के कार्यक्रम तय गर्न सक्नुहुन्छ, के व्यावहारिक हुन्छ हेरेर गर्नुहोस् । दोस्रो, हाम्रो देशमा सदियौँदेखि थाती रहेको मूल कुरा भनेको आर्थिक तथा सामाजिक संरचनागत परिवर्तन हो । २०४५ सालदेखि बजार अर्थतन्त्रमार्फत विद्यमान संरचनामै समायोजन (एडजस्टमेन्ट) खोजियो । तर, संरचनागत परिवर्तन आवश्यक छ । नयाँ किसिमको भूमिसुधार, कृषिसँग जोडिएको औद्योगीकरण, नयाँ किसिमको पर्यटन, जहाँ नेपाली कृषि र नेपाली मानिस नेपाली संस्कृति जोडियोस् । तेस्रो, स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकासका लागि पूर्वाधार विकास, खासगरी शिक्षा र अनुसन्धानमा लगानी । व्यापारको विविधीकरण, लगानी र उत्पादन वृद्धि गर्न कम्पिटेटिभ तथा कम्पेरेटिभ एड्भान्टेज कता कसरी भन्नका लागि पनि अध्ययन र रिसर्च आवश्यक देख्छु । चौथो, प्रगतिशील करको सुरुवात । र, गाउँहरू व्यवस्थित गर्न पुरानै ढाँचामा भए पनि दुईवर्षे अवधिका लागि भए पनि निर्वाचन । त्यसका लागि बजेटको जोहो ।

तर, अनुहार हेर्दा मेरो कुरा दुवै डाक्टरसाबलाई जचेजस्तो लागेन । संविधानअघि नै चुनाव भन्छ यो बौलट्ठी भन्ने भावमा । त्यसपछि अरू मैले थपिनँ ।

०००

म यतिवेला मेरो खेतको सिरानमा उभिएर डा. देवेन्द्रराज पाण्डेलाई र उहाँको मूल्यवान् कृति ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’ व्यवहारमा निहारिरहेको छु । मेरो टोल यो वर्ष रित्तियो । मेरो घरबाहेक मेरा टोलका सबै घरमा ताला झुन्डिएका छन् । असी प्रतिशत खेतबारी बाँझिएका छन् । गाउँमा बाँदरको एकछत्र राज चलेको छ । गाउँ लगभग रित्तिँदै छ र सन् १९९० सम्म ९० घर रहेको मेरो सानो खुतुम्बु गाउँ आघौँ सालसम्ममा पूरा रित्तिनेछ । यहाँबाट हिँडेपछि कहाँ कसरी जीविका चलाउने ? हाम्रो विकास कहिले पास हुन्छ ? डा. पाण्डेसँगको एक भेटमा उहाँले भन्नुभएको थियो, ‘अर्थतन्त्रमा स्वावलम्बन भएन भने देशको स्वाभिमानमा आँच आउँछ ।’ अहिले पनि म सोचिरहेछु, ‘हाम्रो स्वाभिमान बाँच्ने ठाउँ नेतृत्वले खोइ कहाँ राखे र ?’

सुझावित समाचार