संखुवासभामा साउन पहिलो सातासम्म ७० प्रतिशत धान रोपाइँ सकिएको छ। जिल्लाको उपल्लो तह हिमाली र पहाडी क्षेत्रका अधिकांश स्थानमा रोपाइँ सकिएको छ भने तल्लो औल क्षेत्र बेँसीहरूमा धमाधम रोपाइँ भइरहेको छ।
कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माका अनुसार हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कार्यालयले हरेक सोमबार प्रदेशमा उद्यावधिक तथ्यांक पठाउने गरेको छ। ‘संखुवासभाको भौगोलिक अवस्था आधा हिमाली र आधा पहाडी भएकाले माथिल्लो क्षेत्रमा छिटो रोपाइँ हुन्छ भने बेँसीमा साउन अन्तिमसम्म रोपाइँ हुने गर्दछ,’ कार्यालय प्रमुख विश्वकर्माले भने।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा कुल ३१ हजार ५९६ हेक्टर क्षेत्रफलमा खेती हुने गरेकोमा आठ हजार ४९२ हेक्टर जमिन खेतीयोग्य छ। जिल्लामा विशेष गरी अट्टे, बेलगुठी, खुमल ४, राधाकृष्ण, सानोमसिना र कालधानलगायत जातका धान खेती हुने गर्छ। पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्लाको रूपमा हेरिन्छ।
जिल्लाको खाँदबारी नगरपालिकाभित्रका हेलुवाबेँसी, चन्दनपुर, चेवाबेँसी, कलचेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसी, सेकाहा, पाङ्मा, मकालु गाउँपालिकाको हेदाङ्ना, चैनपुर, मादी, सभापोखरीको धुपु र पाँचखपन नगरपालिकाको तल्लो क्षेत्र ओक्तेन र निपानेलगायतका बेँसी धान उत्पादन हुने क्षेत्र हुन्।