सल्यानमा एकै वर्षमा १७८ अभियुक्त पक्राउ, नाैजना अझै फरार

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रकृतिका आपराधिक घटनामा संलग्न १७८ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार पक्राउ परेकामध्ये ६ जना जघन्य प्रकृतिका, ६३ जना गम्भीर प्रकृतिका र १०९ जना सामान्य प्रकृतिका मुद्दामा संलग्न रहेका छन्।

प्रहरीको तथ्यांकअनुसार कर्तव्य ज्यान मुद्दामा चारजना, सवारी ज्यानमा १५ जना, जबर्जस्ती करणीमा १५ जना, जबर्जस्ती करणी उद्योगमा ६ जना, ज्यान मार्ने उद्योगमा २३ जना, अभद्र व्यवहार मुद्दामा ३३ जना, हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा दुईजना रहेका छन्। यस्तै, बैंकिङ कसुरमा २६ जना, विद्युतीय कसुरमा चारजना, लागुऔषधसम्बन्धी मुद्दामा २२ जना, ठगीमा चारजना, आपराधिक उपद्रवमा तीनजना, साधारण चोरीमा तीनजना, जुवा मुद्दामा ६ जना तथा बहुविवाह मुद्दामा १२ जना पक्राउ परेका छन्।

प्रहरी निरीक्षक भट्टराईका अनुसार विभिन्न मुद्दामा संलग्न नाैजना प्रतिवादी अझै फरार छन्। फरार रहेकामध्ये बैंकिङ कसुरमा तीनजना, जबर्जस्ती करणीमा तीनजना, जबर्जस्ती करणी उद्योगमा एकजना तथा सवारी ज्यान मुद्दामा दुईजना रहेका छन्।

उनले फरार प्रतिवादीहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताउँदै उनीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी परिचालन गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण, अनुसन्धान र फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै कानुनी शासन कायम गर्न निरन्तर सक्रिय रहेको जनाएको छ। प्रहरीले शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि आपराधिक गतिविधिको सूचना नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
 

सुझावित समाचार