प्रमुख प्रतिपक्षी दल कांग्रेसले जरा अभियान समापन गरेसँगै नयाँ अभियान घोषणा गरेको छ । ४४औँ बिपी स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा गरिएको हो ।
अभियान घोषणा गर्दै सभापति गगन थापाले अभियानको उद्देश्य ‘नेपाली कांग्रेस, फर नेसनल कज’ (एनसी फर एनसी) हुने बताए । उक्त अभियान २४ भदौमा बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर सुरुवात गरिने उनले बताए ।
अभियानले चारवटा क्लस्टरमा काम गर्ने थापाले बताए । उनका अनुसार पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदानलगायत हुनेछ । दोस्रोमा वैयक्तिक सहयोग, तेस्रोमा नागरिक अभियान र चौथोमा सुशासन अभियान हुनेछ । यी काम अनिवार्य नभई स्वैच्छिक हुने थापाले घोषणा गरे ।
‘पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न यो अभियान सुरु गर्न लागिएको हो । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने हो,’ उनले भने । कांग्रेसलाई सत्ताको खेलमा मात्र सीमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्ने बताए ।