नेपालले गत आर्थिक वर्ष ०८२/८३ मा २० खर्ब ९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । यो वर्ष निर्यात केही बढे पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १६.२ प्रतिशतले बढेको हो । तर, गत आवमा निर्यात भने तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँबराबरको भएको छ । अघिल्लो आवको तुलनामा निर्यात पनि १३.८१ प्रतिशतले बढेको भए पनि आयातको वृद्धि अझ तीव्र भएकाले व्यापार असन्तुलन बढेको देखिएको हो । जसल गर्दा यो अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको तथ्यांक छ ।
आयात र निर्यात दुवै जोड्दा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो । तथ्यांकले नेपालको व्यापार अझै पनि आयातमुखी रहेको देखाएको छ । गत आर्थिक वर्षमा हरेक एक रुपैयाँको निर्यात गर्दा नेपालले करिब ६ रुपैयाँ ६५ पैसाको वस्तु आयात गरेको छ । अघिल्लो वर्ष यो अनुपात ६.५१ गुणा थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापारको १३.३१ प्रतिशत हिस्सा निर्यातले ओगटेकोमा गत वर्ष यो १३.०७ प्रतिशतमा झरेको छ । आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ । यसले निर्यातमा वृद्धि भए पनि आयातको निर्भरता घटाउन नेपाल अझै सफल हुन नसकेको र व्यापार घाटा नियन्त्रण सरकारका लागि चुनौतीकै रूपमा रहेको देखाएको छ ।
भारतबाट मात्रै १२ खर्बको आयात, चीन दोस्रो र अर्जेन्टिना तेस्रो
नेपालले सबैभन्दा धेरै वस्तु भारतबाट १२ खर्बभन्दा बढीको आयात गरेको छ । तथ्यांक अनुसार कुल आयातको झन्डै ५८ प्रतिशत हिस्सा भारतबाट मात्रै आएको देखिएको छ । चीन दोस्रो ठुलो आयात साझेदार बनेको छ । एक वर्षमा चीनबाट चार खर्ब २५ अर्ब २४ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ । यो कुल आयातको करिब २० प्रतिशत हो ।
तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ । अर्जेन्टिनाबाट एक खर्ब १६ अर्ब ३८ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ । मुख्यतः सोयाबिन तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका रूपमा सोयाबिन र अन्य कृषि वस्तुको आयातका कारण अर्जेन्टिना शीर्ष तीनमा परेको हो ।
त्यसपछि संयुक्त अरब इमिरेट्सबाट ५२ अर्ब १६ करोड, अमेरिकाबाट ३२ अर्ब ७१ करोड, इन्डोनेसियाबाट २२ अर्ब १८ करोड, अस्ट्रेलियाबाट २० अर्ब ३९ करोड, थाइल्यान्डबाट १८ अर्ब ३६ करोड रुपैयाँ, ब्राजिलबाट १७ अर्ब ७६ करोड रुपैयाँ र मलेसियाबाट १५ अर्ब ५० करोड रुपैयाँबराबरका वस्तु नेपालले आयात गरेको छ । तथ्यांकले नेपालको आयात दुई छिमेकी मुलुक भारत र चीनमै अत्यधिक केन्द्रित रहेको देखाएको छ । यी दुई देशबाट मात्रै १६ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । नेपालको कुल आयातको करिब ७८ प्रतिशत हो ।
निर्यात पनि भारतमै निर्भर
आर्थिक वर्ष ०८२/८३ मा नेपालले निर्यात गरेको कुल वस्तुमध्ये ८२ प्रतिशतभन्दा बढी भारतमा मात्रै गएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँबराबरका वस्तु निर्यात भएको थियो । त्यसमध्ये दुई खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँबराबरका वस्तु भारत निर्यात भएका छन् । यो कुल निर्यातको करिब ८२ प्रतिशत हो ।
भारतपछि अमेरिका नेपाली वस्तुको दोस्रो ठुलो बजार बनेको छ । नेपालले अमेरिकामा २० अर्ब ७७ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको छ । त्यसपछि जर्मनीमा चार अर्ब ९८ करोड रुपैयाँ, बेलायतमा तीन अर्ब २२ करोड रुपैयाँ, जापानमा दुई अर्ब ३० करोड रुपैयाँ, फ्रान्समा दुई अर्ब २१ करोड रुपैयाँ र अस्ट्रेलियामा दुई अर्ब १२ करोड रुपैयाँबराबरका वस्तु निर्यात भएका छन् ।
नेपालले चीनमा भने एक अर्ब ८९ करोड रुपैयाँबराबरका वस्तु मात्रै निर्यात गरेको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्समा एक अर्ब ८४ करोड रुपैयाँ, इटालीमा एक अर्ब ६० करोड रुपैयाँ, क्यानडामा एक अर्ब ५५ करोड रुपैयाँ, नेदरल्यान्ड्समा एक अर्ब ४६ करोड रुपैयाँ, टर्कीमा एक अर्ब ३९ करोड रुपैयाँ, सिंगापुरमा एक अर्ब २९ करोड रुपैयाँ र डेनमार्कमा एक अर्ब दुई करोड रुपैयाँबराबरका नेपाली वस्तु पुगेका छन् । तथ्यांकले नेपालको आयात–निर्यात बजार अत्यधिक रूपमा भारतमा केन्द्रित रहेको देखाएको छ ।
सोयाबिन तेलमै निर्भर नेपालको निर्यात
आर्थिक वर्ष ०८२/८३ मा नेपालको सबैभन्दा ठुलो निर्यात वस्तु प्रशोधित सोयाबिन तेल बनेको छ । कुल निर्यातको करिब ४१ प्रतिशत हिस्सा सोयाबिन तेलले ओगटेको छ । एक खर्ब २८ अर्ब ७४ करोड रुपैयाँबराबरको प्रशोधित सोयाबिन तेल भारत निर्यात भएको छ । एक वर्षमा नेपालबाट ५९ करोड ३८ लाख किलोभन्दा बढी सोयाबिन तेल भारत गएको छ ।
दोस्रो ठुलो निर्यात वस्तु ठुलो अलैँची छ । १२ अर्ब ६४ करोड रुपैयाँबराबरको अलैँची निर्यात भएको छ । त्यसपछि प्रशोधित सूर्यमुखी तेल आठ अर्ब ९४ करोड रुपैयाँ, जुटका कपडा सात अर्ब १४ करोड रुपैयाँ र ऊनका गलैँचा ६ अर्ब ७३ करोड रुपैयाँबराबर निर्यात भएका छन् । नेपाली गलैँचाको प्रमुख बजार अमेरिका रहेको छ । नेपालले प्रशोधित पाम तेल ६ अर्ब ६७ करोड रुपैयाँ, पोलिस्टर धागो पाँच अर्ब ४० करोड रुपैयाँ, जुस चार अर्ब ७४ करोड रुपैयाँ, अर्को प्रकारको पोलिस्टर धागो चार अर्ब ५० करोड रुपैयाँबराबर निर्यात गरेको छ । कुकुर र बिरालोको खाना चार अर्ब १९ करोड रुपैयाँबराबर निर्यात भएको छ ।
डिजेल मात्रै एक खर्ब ७२ अर्बको आयात
आर्थिक वर्ष ०८२/८३ मा नेपालले सबैभन्दा धेरै डिजेल आयात गरेको छ । त्यसपछि कच्चा सोयाबिन तेल, पेट्रोल, एलपी ग्यास र फलामजन्य कच्चा पदार्थ बढी आयात भएका वस्तुमा परेका छन् । डिजेल मात्रै एक खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँबराबर आयात भएको छ । एक वर्षमा १३ लाख ९३ हजार तीन सय ३४ किलोलिटर डिजेल नेपाल भित्रिएको छ ।
दोस्रो स्थानमा रहेको कच्चा सोयाबिन तेलको आयात एक खर्ब ३२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तो कच्चा तेल प्रशोधन गरी पुनः निर्यातसमेत गरिन्छ । तेस्रो स्थानमा रहेको पेट्रोलको आयात ७७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
त्यसपछि खाना पकाउने एलपी ग्यास ६० अर्ब २८ करोड रुपैयाँ, फलामजन्य वस्तु ५८ अर्ब ५२ करोड रुपैयाँ र स्मार्टफोन ४८ अर्ब ६९ करोड रुपैयाँबराबर आयात भएका छन् । गत वर्ष नेपालमा २२ लाख ६७ हजार चार सय १९ वटा स्मार्टफोन भित्रिएका छन् ।
औषधिमा पनि ठुलो रकम बाहिरिएको छ । खुद्रा बिक्रीका लागि तयारी अवस्थामा रहेका विभिन्न औषधि २९ अर्ब १५ करोड रुपैयाँबराबर आयात भएका छन् ।
त्यस्तै, हट रोल्ड आइरन तथा स्टिलका पाता २७ अर्ब ५६ करोड रुपैयाँ, सुन २६ अर्ब ७८ करोड रुपैयाँ, हवाई इन्धन २६ अर्ब ६५ करोड रुपैयाँ, डिएपी मल २४ अर्ब नौ करोड रुपैयाँ, कोइला २३ अर्ब ३७ करोड रुपैयाँ, रासायनिक मल २२ अर्ब ३९ करोड रुपैयाँ, कच्चा सूर्यमुखी तेल २१ अर्ब ७७ करोड रुपैयाँ र चाँदी २१ अर्ब ४७ करोड रुपैयाँबराबर आयात भएको छ ।