नाबालिगको डिम्ब कारोबार

एक बिचौलिया पक्राउ, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा पनि अनुसन्धानमा

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

निःसन्तान दम्पतीलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर १६ वर्षीया नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनहुँकी राधिका गौतमे पक्राउ परेकी छिन् । प्रारम्भिक अनुसन्धानअनुसार गौतमे नाबालिग युवतीलाई डिम्ब दानका लागि उपलब्ध गराउने बिचौलियाको भूमिकामा रहेको खुलेको प्रहरीले जनाएको छ ।

ललितपुर जिल्ला प्रहरी परिसरले गोतामेलाई गत आइतबार ग्वार्कोस्थित बिएन्डबी अस्पतालपरिसरबाट पक्राउ गरेको हो । जिल्ला अदालत ललितपुरले उनीमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार यो घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएकाले विस्तृत अनुसन्धान भइरहेको छ । ‘१६ वर्षीया नाबालिगको डिम्ब अवैध रूपमा संकलन तथा कारोबार भएको देखिएको छ । पीडित परिवारको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरेका छौँ । अन्य संलग्न व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार घटनामा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं टेस्ट–ट्युब बेबी (आइभिएफ) विशेषज्ञ डा. नूतन शर्माको भूमिका पनि अनुसन्धानको दायरामा छ । उनी हाल बिएन्डबी अस्पतालमा कार्यरत छिन् । अनुसन्धानबाट खुलेअनुसार डा. शर्माकै सिफारिसमा बिचौलिया गौतमले नाबालिगलाई बिएन्डबीस्थित आइभिएफ सेन्टर पुर्याएकी थिइन् । 

त्यहाँ नाबालिगलाई डिम्ब उत्पादन बढाउने हर्मोनको इन्जेक्सन लगाइएको थियो । सात दिनपछि पुनः आउन भनेर उनलाई घर पठाइएको प्रहरीले जनाएको छ । घर फर्किएपछि नाबालिगको स्वास्थ्यमा इन्जेक्सनको प्रतिकूल असर देखिन थालेको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी केही घण्टा ढिलो गरी पुनः सेन्टर पुगेकी थिइन् । 

तर, ढिलो आएको भन्दै चिकित्सकले हप्काएर फर्काइदिएको आरोप छ । त्यसपछि स्वास्थ्य झन् बिग्रिएपछि परिवारले सोधपुछ गर्दा मात्रै नाबालिगले आफूलाई डिम्ब दानका लागि लगिएको घटना अभिभावकलाई सुनाएकी थिइन् ।

तथ्य थाहा पाएलगत्तै नाबालिकाका अभिभावकले बिचौलिया गोतामेलाई सम्पर्क गरेका थिए । र, उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि गोतामेले नाबालिकालाई लिएर सेन्टर पुगेकी थिइन् । डा. शर्मा सेन्टरमा नभेटिएपछि गोतामेले टेलिफोन सम्पर्क गरी घटना सम्बन्धमा जानकारी दिएकी थिइन् । 

तर, त्यस वेला डा. शर्माले कुनै वास्ता नगरेको आरोप छ । नाबालिकाको स्वास्थ्य झन् बिग्रन थालेपछि गोतामेले अर्को आइभिएफ सेन्टरमा लगेर डिम्ब सुक्ने नयाँ इन्जेक्सन लगाइदिएकी थिइन् । त्यसपछि नाबालिकाको स्वास्थ्य सामान्य अवस्थामा फर्केको थियो । त्यसपछि मात्रै उनी जाहेरी लिएर ललितपुर परिसर पुगेकी थिइन् । 

प्रहरी स्रोतका अनुसार नाबालिकाको आर्थिक अवस्था कमजोर छ । उनलाई मोबाइल खरिद गर्ने रकम उपलब्ध गराइदिने प्रलोभनमा बिचौलिया गोतामेले डा. शर्माकहाँ लिएर गएकी थिइन् । त्यसबापत गोतामेले डा. शर्माबाट ६० हजार रुपैयाँ रकम मोबाइल बैंकिङमार्फत लिएको अनुसन्धानमा देखिएको छ । ‘त्यसको स्क्रिनसट पनि हामीले फेला पारेका छौँ,’ एक प्रहरी अधिकारीले भने, ‘बैंकिङ ट्रान्जेक्सनमा रकम गएको देखिन्छ । डा. शर्माविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढेको छ ।’

बिएन्डबी अस्पतालले भने डा. शर्मा अस्पतालमा कार्यरत रहेको, तर घटना सम्बन्धमा जानकारी नभएको दाबी गरेको छ । अस्पतालका सूचना अधिकारी नवीन खकुरेलले डा. शर्माको घटना सम्बन्धमा जानकारी नभएको बताए । ‘डा. शर्मा बिएन्डबीमै कार्यरत हुनुहुन्छ । उहाँले अस्पतालकै एसोसिएटमा आइभिएफ सेन्टर चलाउनुहुन्छ,’ उनले भने । तर, घटना सम्बन्धमा जानकारी भएन ।’

बिएन्डबी स्रोतका अनुसार डा. शर्मा अहिले फिलिपिन्समा छिन् । लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा डा. शर्माको लाइसेन्स नेपाल मेडिकल काउन्सिलले तीन महिनाका लागि निलम्बन गरेको थियो । काउन्सिलको निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट हालेकी थिइन् । तर, अदालतले काउन्सिलको निर्णयमा अन्तरिम आदेश दिएको थिएन । 

किशोरीको डिम्ब अवैध तवरले कारोबार घटनामा यसअघि पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारीको छोरी डा. प्रसता बरालको समेत संलग्नता पाइएको थियो । उनले बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालन गर्दै आएकी थिइन् । सेन्टरको प्रमुख डा. स्वस्ति शर्मा छिन् । उनी पनि भूतपूर्व न्यायाधीशकी छोरी हुन् । घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरी अदालतमा मुद्दासमेत दर्ता गरेको थियो । तर, पछि तत्कालीन महान्यायाधिवक्ता सबिताले उक्त मुद्दा नचल्ने निर्णय गरेकी थिइन् । 

यसरी झिकिन्छ किशोरीको अन्डा 
प्रहरीका अनुसार पहिलो चरणमा बिचौलियामार्फत स्वस्थ अवस्थाका १६ देखि १९ वर्ष उमेर समूहका किशोरी पहिचान गरिन्छ । विशेष गरी आर्थिक अवस्था कमजोर भएका किशोरी उनीहरूको पहिलो छनोटमा पर्छन् । छनोट भएका किशोरीलाई आर्थिक प्रलोभन दिई डिम्ब दानका लागि प्रेरित गरिन्छ । किशारी तयार भएपछि यसको महिनावारी गणना हुन्छ । र, महिनावारी सकिएको ठिक तीन दिनपछि बिचौलिया किशोरीकहाँ पुग्छन् । किशोरीलाई क्लिनिक लगेर जान्छन् । डिम्ब स्वैच्छाले दान गरेको भन्दै सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्छ ।

हस्ताक्षरपछि किशोरीलाई क्लिनिकस्थित शङ्ढयामा लगिन्छ । इन्जेक्सन दिइन्छ । र, घर पठाइन्छ । यो क्रम १० दिनसम्म निरन्तर चल्छ । १० वटा इन्जेक्सनको डोज पुगेपछि किशोरीलाई तीन दिन आराम गर्न लगाइन्छ । क्लिनिकको शङ्ढयामा सुताएर बेहोस बनाइन्छ र यौनांगबाट औजार घुसाई पाठेघरबाट डिम्बा झिकिन्छ । र, अर्को बेडमा रिसिभ गर्न बसेकी महिलाको पाठेघरमा डिम्बा लगेर प्रत्यारोपण गरिन्छ । यसबापत डिम्ब रिसिभ गरेकी महिलाले क्लिनिकलाई १८ लाखदेखि २० लाख रुपैयाँसम्म असुल्छ । तर, दान गर्ने किशोरीलाई भने १० हजार रुपैयाँ दिएर बिदा गरिन्छ । 

सुझावित समाचार