कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–जापानबिचको कृषि सहकार्य विस्तार, कृषि क्षेत्रमा जापानी लगानी, प्रविधि हस्तान्तरण तथा अनुसन्धानलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री चौधरीले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र जापानबिच रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै ७०औँ वर्षगाँठका अवसरमा सम्बन्ध थप सुदृढ भएको बताइन्। साथै, गत फेब्रुअरीमा राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै जापान सरकारप्रति धन्यवाद व्यक्त गरिन्।
मन्त्री चौधरीले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्याएको योगदानको प्रशंसा गर्दै कृषि क्षेत्र, विशेष गरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृंखला विकासमा प्राप्त सहयोगको उच्च मूल्यांकन गरेको बताइन्।
नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, तरकारी तथा विभिन्न बालीका बिउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधि आवश्यक रहेको बताउँदै उनले यसमा सहयोगका लागि राजदूतको विशेष पहलको अपेक्षा व्यक्त गरिन्।