भारतबाट हुने विद्युत् आयात १८.२९ प्रतिशतले घट्यो

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

नेपालमा नयाँ जलविद्युत् आयोजना थपिँदै गएपछि हिउँदमा भारतबाट हुने विद्युत् आयातमा कमी आउन थालेको छ । गत आव ०८२/८३ मा १० अर्ब ५५ करोड ९९ लाख ५५ हजार रुपैयाँको मात्र विद्युत् आयात भएको छ । यो अघिल्लो आव ०८१/८२ को आयात (१२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ) भन्दा १८.२९ प्रतिशतले कम हो ।

हिउँदको सुक्खायाममा नदीमा पानीको बहाव घट्दा माग धान्न भारतबाट पाँचदेखि ६ सय मेगावाटसम्म बिजुली आयात गर्नुपर्ने बाध्यता रहे तापनि गत वर्ष उत्पादन बढेकाले आयातको परिमाण र रकम दुवै घटेको छ ।

नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । भारतमा विद्युत् निर्यात भने सन् १९७२ देखि सुरु भएको थियो । त्यसवेला भारतकै सहयोगमा बनेको २५ मेगावाटको त्रिशूली जलविद्युत् परियोजनाबाट पाँच मेगावाटसम्म बिजुली भारतमा निर्यात गरिएको थियो ।

उक्त परियोजनाको विद्युत् त्रिशूली–काठमाडौं–कुलेखानी–वीरगन्ज (६६ केभी प्रसारण)लाइन हुँदै भारतको रक्सौलमा निर्यात गरिन्थ्यो । यस्तै, जोगबेनी र रामनगरस्थित प्रसारणलाइनबाट भारतका विभिन्न प्रदेशमा पठाइन्थ्यो । यद्यपि, स्वदेशी माग धान्न नसकेपछि बिचमा विद्युत् निर्यात रोकिएको थियो ।

नेपाल र भारतबिच व्यवसायी रूपमा विद्युत् आदान–प्रदान भने कात्तिक ०७८ यता मात्रै भएको हो । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो), विद्युत् आदान–प्रदान सम्झौता र महाकाली–सन्धिअनुसार विद्युत् आयात–निर्यात हुने गर्दथ्यो । भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात भने कात्तिक ०७८ मा सुरु भएको हो ।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले ३ नोभेम्बर २०२१ नोभेम्बरमा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । ३० कात्तिक ०८१ मा नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको थियो । बंगलादेशमा बर्खामा ४० मेगावाट विद्युत् निर्यात हुन्छ । 

सुझावित समाचार