उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन कामदार गम्भीर घाइते

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

धनुषाको मिथिला नगरपालिका– ६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना कामदार गम्भीर घाइते भएका छन्। बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालद्वारा सञ्चालित ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र रहेको कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी बारा जिल्लाको प्रसौनी गाउँपालिका– ४, खुट्वा प्रसौनीनिवासी २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महताे गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।

घाइते तीनैजनाको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल, जनकपुरमा गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई बर्न अस्पताल, कीर्तिपुर पठाइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आगो नियन्त्रणमा आइसकेको जनाएको छ।घटनाको कारण तथा क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार