लक्ष्य घटाए पनि लक्ष्यअनुरूपै भन्सार राजस्व संकलन भएन

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

गत आर्थिक वर्षमा पनि कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेन । आर्थिक वर्ष ०८२/८३ मा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो ।

भन्सार कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार भन्सार विभागले अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा गत आर्थिक वर्ष ०८२/८३ मा लक्ष्य घटाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा पाँच करोड दुई लाख ७३ हजार रुपैयाँ राजस्व घटाए पनि लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो । 

०८१/८२ मा ७४ करोड ५५ लाख ९० हजार लक्ष्य निर्धारण भएकोमा ५९ करोड ७७ लाख अर्थात् ८०.१७ प्रतिशत राजस्व संकलन गर्याे, तर गत आर्थिक वर्ष ०८२/८३ मा ६९ करोड दुई लाख ८६ हजार राजस्व संकलनको लक्ष्य थियो । जसमध्ये ६० करोड नाै लाख ६२ हजार ६६ रुपैयाँ अर्थात् ८७.५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

अधिल्लो आर्थिक वर्षमा ५९ करोड ७७ लाख ५८ हजार र गत आर्थिक वर्षमा ६० करोड नाै लाख ६२ हजार ६६ रुपैयाँ अर्थात् ३२ लाख चार हजार ६६ रुपैयाँ मात्रै बढी संकलन गरेको छ । 
गत आर्थिक वर्षमा दुई महिना असोज र असारमा मात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको र बाँकी १० महिना लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । असोज ०८२ मा पाँच करोड ७६ लाख ८९ हजार लक्ष्यमा पाँच करोड ८८ लाख ९१ हजार ६३० अर्थात् १०२.०८ प्रतिशत र असार ०८३ मा पाँच करोड ९५ लाख ७८ हजारमा ६ करोड ९२ लाख तीन हजार ८५ रुपैयाँ संकलन अर्थात् ११६.२० प्रतिशत राजस्व संकलन भएको हो । 

भन्सार राजस्व छली, सेटिङजस्ता गैरकानुनी सीमावारपार कारोबारका कारण पनि लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकिएको जनाएको छ । भन्सार कार्यालय गड्डाचौकीका सूचना अधिकृत चक्रदेव भट्टले विवित कारणबाट लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको बताए ।

उनका अनुसार गड्डाचौकी–बनबासा नाकाअन्तर्गत महाकाली नदीमा रहेको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुल्ने भएकाले यस नाकाबाट ठुला व्यवसायीहरूले सामान आयात–निर्यात गर्न झन्झट मान्ने भएकाले नाकाको कम प्रयोग गर्दै आएको बताए ।

उनका अनुसार बनबासा पुल अर्थात् शारदा ब्यारजे बिहान ६–८, १०–१२, दिउँसो २–४ र साँझ ६–७ बजेसम्म गरेर २४ घण्टामा सात घण्टा मात्रै खुल्ने गरेको छ । यसका साथै गत असोज र असारमा लक्ष्यभन्दा बढी राजस्व ठुला व्यवसायीहरूले यही नाकाबाट सामान आयात गरेको र पछि एमआरपी लागू भएपछि छाडेको बताए । उनले दैनिक चार–पाँच लाख मात्रै राजस्व संकलन हुने गरेको भएपछि भन्सार विभागबाट लक्ष्य वृद्धि गरिदिँदा त्यहाँ पुग्न नसकिएको उनको भनाइ छ । 

भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी भट्टले भन्सार राजस्व वृद्धिका लागि उद्योगी, व्यापारीदेखि सरोकारवालासम्म जिम्मेवार बन्नुपर्ने आग्रह गरेका छन् । भन्सार अधिकृत भट्टले नेपाल–भारत आयात–निर्यात गर्ने व्यवसायीहरूले इमानदारीपूर्वक भन्सार शुल्क तिरेर मात्रै कारोबार गर्नसमेत आह्वान गरेका छन् । 
 

सुझावित समाचार