बागमती सरकारलाई एमालेको समर्थन फिर्ता, प्रदेश प्रमुखलाई बुझाइयो औपचारिक पत्र

मन्त्रीहरुले २ बजेपछि राजीनामा दिने

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । एमाले बागमती प्रदेश संसदीय दलले बुधबार प्रदेश प्रमुखसमक्ष पत्र पठाउँदै कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेको पत्रमा ०८२ साउन २० गते नेपालको संविधानको धारा १६८ (२) बमोजिम गठन भएको बानियाँ नेतृत्वको सरकारलाई दलले दिएको समर्थन ०८३ साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिइएको उल्लेख छ ।

पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार आवश्यक संवैधानिक प्रक्रियाका लागि प्रदेश प्रमुखलाई जानकारी गराइएको जनाइएको छ । एमालेले सरकारलाई दिएको समर्थ फिर्ता लिए पनि  एमालेका ६ मन्त्रीको राजीनामा भने बाँकी छ । मुख्यमन्त्री बानियाँ चितवन रहेकाले उनी हेटौँडा फर्किएपछि मात्रै एमालेका मन्त्रीहरूले राजीनामा दिनेछन्। केन्द्रमा नेपाली कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य भएपछि त्यसको प्रभाव बागमती प्रदेशमा पनि परेको हो ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब संविधानअनुसार प्रदेश प्रमुखले आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउनेछन् ।

नयाँ सत्तासमीकरण निर्माण गर्ने वा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने विषयमा आगामी राजनीतिक घटनाक्रम केन्द्रित हुने भएको छ । बागमती प्रदेश सभामा हाल १०४ सदस्य कायम रहेकाले सरकार टिकाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।

सुझावित समाचार