पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतको हकमा मुद्दा मुल्तबीमा राख्न अदालतले अस्वीकार गरेको छ । मंगलबार विशेष अदालतले भ्रष्टाचारको मुद्दामा अनुमति नहुने आदेश गरेको हो । विशेषका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले महतकी श्रीमती रोशना महतको निवेदनमाथि अनुमति नहुने आदेश गरेको हो ।
महत श्रीमती रोशनाका साथ अदालतमा उपस्थित भएका वेला उनको स्वास्थ्य अवस्थासमेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम हुने भन्दै मुल्तबी राख्न नमिल्ने आदेश विशेषले गरेको हो ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार भएको गैरकानुनी लाभको मुद्दामा महत पनि प्रतिवादी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले २१ मंसिर ०८२ मा मुद्दा दर्ता गरेको थियो । तर, उनको हकमा मुद्दा मुल्तबीमा राख्नुपर्ने मागसहित उनकी श्रीमती रोशना महतले गत १७ चैतमा निवेदन दिएकी थिइन् ।
मुद्दामा महतका नाममा पनि समाह्वान जारी भएपछि श्रीमती रोशना अदालत पुगेकी थिइन् । महत फ्रन्टल टेम्पोरल डिमेन्सिया रोगबाट गम्भीर रूपमा मानसिक तथा शारीरिक रूपमा अशक्त भई स्मरण शक्ति हराएकाले बयानका लागि उपस्थित हुन नसक्ने निवेदनमा थियो । विशेषले निवेदनपछि नेपाल मेडिकल बोर्डबाट स्वास्थ्य जाँच प्रतिवेदन झिकाउन आदेश गरेको थियो । त्यसैअनुसार विशेषले यस्तो आदेश गरेको हो । तत्कालीन अर्थमन्त्रीका हैसियतले विशेषमा महतमाथि मुद्दा चलेको हो । आठ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबी रहेको यस मुद्दामा तीन दर्जनभन्दा बढी प्रतिवादी छन् ।