कपिलवस्तुमा लागुऔषध सेवन गरी सवारी चलाउने १५ जना पक्राउ, विद्यालय बसका चालकसमेत परे

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

कपिलवस्तुमा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाइरहेको अवस्थामा १५ जना सवारीचालक तथा सहचालक पक्राउ परेका छन्। सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

गत आर्थिक वर्षभर जिल्लाका पिपरा, तौलिहवा, पकडी, चन्द्रौटालगायतका प्रमुख सडकखण्डहरूमा ६ पटक चलाइएको आकस्मिक किट परीक्षणका क्रममा १५० चालक र एक सहचालक गरी कुल १५१ जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये १४ जना चालक र एक सहचालकमा लापसे पजिटिभ पाइएको हो।

साउनमा पिपरामा गरिएको परीक्षणका क्रममा मात्रै एकैपटक सातजना चालकमा लापसे पजेटिभ देखिएको प्रहरी तथ्यांकले देखाएको छ। पक्राउ पर्नेमा विद्यालय बसका चालकसमेत भेटिनुले सडक सुरक्षामा थप गम्भीर चुनौती देखिएको छ।

अभियान र सडक सुरक्षाको गम्भीरताबारे स्पष्ट पार्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले भने, ‘लागुऔषधको नशामा सवारी चलाउनु सिधै अकालमा सर्वसाधारणको ज्यान जोखिममा पार्नु हो। अझ विद्यालय बसका चालक नै यस्तो लतमा भेटिनु अत्यन्तै चिन्ताजनक विषय हो।’ 

लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिएको प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरण र मर्यादित यातायात व्यवस्थापनका लागि आगामी दिनहरूमा पनि यस्ता आकस्मिक र नियमित परीक्षण अभियानलाई थप प्रभावकारी बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सुझावित समाचार