कोलकाताबाट हिँडेको कार्गो आइपुग्यो विराटनगर

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक औपचारिक रूपमा सञ्चालनमा आएको मालवाहक रेल विराटनगर आइपुगेको छ । तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ तोरी बोकेर कोलकाता बन्दरगाहबाट शुक्रबार अपराह्न हिँडेको कार्गो रेल सोमबार दिउँसो एक बजे विराटनगर भन्सारमा आइपुगेको हो ।

सुनसरी–मोरङ आद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको क्यानोला ग्रेन लोड गरिएको ४० वटा ४० फिट क्षमताका कन्टेनर विराटनगर– १८ भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी) यार्ड स्टेसनमा आइपुगेको छ । इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएका कन्टेनरहरू बोकेर विराटनगर आइपुगेको रेललाई उद्योगी–व्यापारी, भन्सारका अधिकारीहरू र स्थानीयले पूजाआजासहित स्वागत गरेका थिए । 

कोलकाताबाट छुटेको डिजेल इन्जिन भएको कार्गो रेल सामान्यतया २४ देखि ३६ घण्टाभित्र विराटनगर आइपुग्छ । तर, पहिलोपटक भएकाले रुट क्लियर गर्न समय लागेकाले आउन तीन दिन समय लागेको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार रिफाइनरी उद्योगका लागि कच्चा पदार्थ बोकेर कोलकाताबाट विराटनगर आइपुगेको रेलबाट कन्टेनर अनलोड गरेर आइसिपीमा निर्मलीकरण गरेर टेलरमा अनलोड गरेर प्रवेश गराइनेछ । त्यसपछि भन्सार जाँच प्रक्रिया पूरा गरेर उद्योगमा पठाइनेछ । रेलमार्फत आयात भएका कन्टेनरहरू मंगलबार उद्योगी र सेवाप्रदायक कम्पनीहरूसँग छलफल गरेपछि मात्र अनलोड सुरु हुनेछ । 

भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले सन् २०२५ नोभेम्बर ४ मा जारी गरेको सूचनामार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगर भन्सारसम्म रेलमार्फत कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो । 

सोही निर्णय कार्यान्वयनका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलपछि कोलकाता भन्सारले सन् २०२६ फेब्रुअरी २६ मा सार्वजनिक सूचना जारी गर्दै विराटनगरसम्म रेलमार्फत ढुवानीको बाटो खुला गरेको हो । त्यसपछि कोलकाता भन्सार, बन्दरगाह, सिपिङ लाइन तथा सम्बन्धित निकायबिच समन्वय गरी १ साउनदेखि औपचारिक रूपमा कोलकाता–विराटनगर सोझै मालवाहक रेल सेवा सुरु भएको हो । 

अब कोलकाता र विशाखापट्टनममार्फत तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक र व्यापारिक मालवस्तु विराटनगरसम्म एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत ल्याउन सकिने भएको छ । 

पहिलोपटक भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरको भेडियारी स्टेसनसम्म कार्गो रेल आइपुगे पनि कटहरीसम्म आउन भने पाउनेछैन । अझै मुआब्जा विवादकै कारण नेपालतर्फको कटहरीसम्मको १३ किलोमिटर दूरीको निर्माणकार्य अझै सम्पन्न भइसकेको छैन । जग्गाको मुआब्जा विवाद समाधानमा ढिलाइ हुँदा अझै कटहरी गाउँपालिकाको महेशपुरमा रेलवे प्लाटफर्म र गोदामघर निर्माण गर्न र रेलवे ट्र्याक बिछ्याउन अझै बाँकी नै छ । रेल सेवाका लागि भारत र नेपाल सरकारबिच भएको सम्झौताअनुसार सन २००९ जनवरीदेखि निर्माणकार्य दुवैतर्फ सुरु गरेर सन् १०१४ भित्र सम्पन्न गर्नुपर्ने थियो ।

उद्योगी भन्छन्– कार्गो रेल सेवाले निरन्तरता पाउनुपर्छ 
कोलकाताबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल आएपछि उद्योगीहरूले सेवाले निरन्तरता पाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार पहिले उद्घाटन भएर पनि रेल सेवाले निरन्तरता पाउन नसक्ने मुख्य कारणमध्ये नेपालतर्फको लोड–अनलोड सेवा शुल्क रहेको थियो ।

विराटनगरनजिक रहेको रेलबाट कन्टेनरहरू क्रेनमार्फत अनलोड गराएर टेलर (लामो ट्रक )मा राखेर भन्सार भित्र्याएर जाँचपास गराएर उद्योगसम्म ल्याउनुपर्छ । यसका लागि विराटनगर भन्सारमा सेवा दिने कम्पनीहरू टिआरएस र ट्रान्स नेपालले जिम्मा पाएका छन् ।

रेलबाट ल्याएका कन्टेनरहरूको हेन्डलिङ शुल्क महँगो भएमा कार्गो रेल सेवाले निरन्तरता पाउन गाह्रो हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । रेल सेवाले निरन्तरता पाए ट्रकमार्फत असुरक्षित रूपमा हैरानी खेपेर मालवस्तु निकासी–पैठारी गर्नुपर्ने बाध्यता पूर्ण रूपमा बन्द गर्दा पनि फरक नपर्ने उनको भनाइ छ ।

विराटनगर भन्सारमा दैनिक तीन सयभन्दा बढी मालवाहक सवारीहरू आवतजावत हुन्छन् । अध्यक्ष राठीले भने, ‘भारततर्फको झन्झट क्लियर भयो, तर अझै नेपालतर्फको कन्टेनर हेन्डलिङ महँगो शुल्कको समस्या कायमै छ । सरकारले यो समाधान गरे गाडीको रुट बन्द गर्दा पनि फरक पर्दैन ।’ 

सुझावित समाचार