- बनाइएका ठाउँमा पनि पुल प्रयोग गर्दैनन् बटुवा
- चक्रपथको कलंकी–महाराजगन्ज खण्डका तीन ठाउँमा अकासे पुल बन्ने
- अति व्यस्त हुने तीनकुने, एयरपोर्ट, पुतलीसडक चोक, पद्मोदय मोड, माइतीघर, थापाथली, त्रिपुरेश्वर, महाराजगन्ज चोक, केशरमहल, भक्तपुरको राधेराधे तथा ललितपुरको जावलाखेल चोकलगायत ठाउँमा छैनन् अकासे पुल
चक्रपथको गौशाला क्षेत्रमा एकाबिहानैदेखि बेलुकीसम्म सडक वारपार गर्ने बटुवाको बाक्लो भिड हुन्छ । पशुपति दर्शन गर्न आउने भक्तजनहरू जोखिमपूर्ण रूपमा सडक वारपार गरिरहेका हुन्छन् । कुनै विशेष धार्मिक पर्व तथा कार्यक्रममा झन् भिडभाड बढ्ने यो क्षेत्रमा अकासे पुल भने छैन । जसका कारण ओहोरदोहोर गर्ने सवारीसाधनले पनि जामको सास्ती खेप्नुपरेको छ ।
‘यति धेरै मानिस ओहोरदोहोर गर्ने ठाउँमा अस्थायी रूपमै भए पनि एउटा अकासे पुल त चाहिन्थ्यो,’ गौशालामा भेटिएका कुन्दन महराले भने, ‘उपत्यकामा पैदल यात्रुका लागि धरापै धराप छ । न अकासे पुल छ, न त जेब्राक्रस । फुटपाथ पनि गतिला छैनन् । राजधानीजस्तो ठाउँमै सडक पूर्वाधार जोखिमपूर्ण छ भने अन्य ठाउँको त कुरै नगरौँ ।’
सडक वारपार गर्ने पैदलयात्रुको अत्यधिक भिड हुने पुतलीसडक चोक र पद्मोदय मोडमा पनि अकासे पुल छैन । ट्राफिक प्रहरीले सवारीसाधन र यात्रुलाई पालैपालो रोक्दै सडक वारपार गराउँछ । यसले यात्रामा ढिलाइ व्यहोर्नुपर्ने अवस्था छ ।
केही ठाउँमा त अकासे पुल बनाउने भनेर जग हालेको पाँच वर्ष भइसक्दा पनि अलपत्र छाडिएको छ । काठमाडौं महानगरमा विद्यासुन्दर शाक्य मेयर हुँदा ०७७/७८ मै गौशाला, मित्रपार्क र चाबहिल चोकमा अस्थायी प्रकारको अकासे पुलको जग हालिएको थियो । तर, डिजाइन फरक परेको भन्दै महानगरकै जनप्रतिनिधिहरूले रोकेका थिए । डिजाइन गलत पेस गरेका कारण उक्त योजना रद्द गरिएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश राईले बताए । अब गौशाला र मित्रपार्कमा लिफ्टसहितको पुल निर्माण गर्ने उनको भनाइ छ । चाबहिलमा भने अर्कै योजनाअन्तर्गत अहिले अस्थायी पुल छ ।
‘चाबहिल, मित्रपार्क र गौशाला क्षेत्रमा अकासे पुल अत्यावश्यक हो । विगतमै अस्थायी पुल बनाउन लागिएको पनि हो, तर डिजाइन नै गलत परेकाले रोकिएको हो । अब पुरानो टेन्डर रद्द गरेर नयाँ खोल्ने तयारीमा छौँ,’ राईले भने, ‘अब मित्रपार्क र गौशालामा लिफ्टसहितको पुल निर्माण हुन्छ । नयाँ डिजाइन पनि आइसकेको छ । नयाँ आर्थिक वर्षमा टेन्डर आह्वान गरेर पहिले जग बसालेकै ठाउँमा नयाँ डिजाइनमा लिफ्टसहितको पुल निर्माण गरिनेछ । चाबहिलमा भने अहिले अस्थायी पुलले चलिरहेको छ ।’ महानगरले शोभा भगवती र तिलगंगा क्षेत्रमा दुईवटा मोटरेबल पुल निर्माण गर्ने योजना पनि ल्याएको छ । नयाँ आर्थिक वर्षमै यो पुल निर्माण पनि अघि बढ्नेछ ।
बनाइएका ठाउँमा पनि पुल प्रयोग गर्दैनन् बटुवा
उपत्यकामा कतै पुल नहुँदा बटुवा जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य छन् । तर, कतै अकासे पुल भए पनि कतिपय यात्रु त्यसको प्रयोग गर्दै छन् । सडकबाटै ज्यान धरापमा राखेर पार गर्ने प्रवृत्ति छ । एक उदाहरण हो चाबहिल चोक ।
चाबहिल चोकमा अकासे पुल हुँदाहुँदै पनि बटुवाहरू पुलमुनि सडकबाटै ओहोरदोहोर गरिरहेका देखिन्छन् । तीनतिरबाट आउने सवारीसाधन र त्यसमा बटुवाले पनि सडकबाटै ओहोरदोहोर गर्दा चाबहिल चोक अस्तव्यस्त हुने गरेको छ ।
नयाँ बानेश्वर चोकमा पनि अकासे पुल छ । तर, कैयौँ यात्रु पुल छाडेर सडकबाटै हिँडिरहेका हुन्छन् । जसले सवारीसाधन प्रयोगकर्ता र पैदलयात्रु दुवैलाई जोखिम निम्त्याएको छ । अकासे पुल हुँदाहुँदै यात्रुले जथाभावी बाटो काट्दा ट्राफिक जाम पनि बढ्ने गरेको छ ।
चक्रपथको कलंकी–महाराजगन्ज खण्डका तीन ठाउँमा अकासे पुल बन्ने
चक्रपथको कलंकी–महाराजगन्ज खण्डमा तीन ठाउँमा अकासे पुल निर्माणको डिजाइन तयार भइसकेको छ । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख आशिका पोखरेलका अनुसार सीतापाइला, बालाजु र ग्रिनसिटी अस्पतालनजिक अकासे पुल बन्नेछन् । चिनियाँ ठेकेदार कम्पनीले बनाउने ती पुल निर्माण केही महिनामै अघि बढ्ने पोखरेलले बताइन् ।
‘उपत्यकामा अकासे पुलको अभाव नै छ, कलंकी महाराजगन्ज खण्डमा तीन अकासे पुल निर्माण हुन्छन्, चक्रपथको ललितपुर खण्डमा ललितपुर महानगरपालिकाको सहयोगमा पुल निर्माणको काम भइरहेको छ,’ उनले भनिन्, ‘कलंकी महाराजगन्ज खण्डमा चिनियाँ कम्पनीले नै बनाउँछ, जसको डिजाइन तयार भइसकेको छ ।’