वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धताअनुरूप लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रिन’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
बैंकले फिफा वर्ल्डकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोलबराबर एक रुख रोप्ने प्रतिबद्धता गरेको थियो। विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको बताएको छ।
यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा डब्लुडब्लुएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सिएफसिसीसँग जोडेको हो।
काम्दी सिएफसिसीले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ भने डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिअनुकूल पुनर्स्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।
लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता डब्लुडब्लुएफ नेपालको प्राविधिक दक्षता तथा काम्दी सिएफसिसीको समुदायमा आधारित संरक्षण अनुभवलाई एकीकृत गर्दै ‘द गोल इज ग्रिन’ अभियानले विद्यमान संरक्षण प्रयासहरूलाई थप सशक्त बनाउने, जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने तथा वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।