नेपाली कांग्रेसले जलवायु चेतनामूलक कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाउने भएको छ।
साउन ६ र ७ गते जलवायु चेतनामूलक कार्यक्रमसहित विविध कार्यक्रम गरी बिपी कोइरालाको ४४औँ स्मृति दिवस मनाउने निर्णय गरेको उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए।
बिपी कोइरालाले प्रधानमन्त्री हुँदा जंगलको राष्ट्रियकरण गर्ने दूरदर्शी निर्णय गराएको स्मरण गर्दै कांग्रेसले जलवायु परिवर्तनका असरविरुद्ध लड्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रम आयोजना गरेको हो।
साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित र साउन ७ गते पार्टीको नवीन अभियान घोषणासहितको कार्यक्रम हुने कांग्रेसले जनाएको छ।
६ गते ‘ग्रिन रन’ प्रतियोगिता, ग्रिन रन टेबल र जलवायु संकट झल्काउने लाइभ पेन्टिङ र ७ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना हुनेछ।