आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

आज राति पनि देशभर वर्षाको सम्भावना, यी प्रदेशमा ठुलो वर्षाको चेतावनी

शनिबारबाट सक्रिय बनेको मनसुनी प्रणालीका कारण आज आइतबार राति पनि देशभर वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) अवस्थित रहेकाले राति पनि देशभर वर्षाको सम्भावना देखिएको छ।

राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका अधिकांश पहाडी भूभाग, लुम्बिनी र कर्णालीका धेरै पहाडी क्षेत्र र तराईका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनेछ। तर, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी पनि विभागले दिएको छ।

जोखिम बढेपछि आज राति पनि नारायणगढ–मुग्लिन सडक बन्द

अविरल वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

देशकै ‘लाइफलाइन’ पृथ्वी राजमार्गमा छैन आपतकालीन उद्धार उपकरण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित सडकमा गत असारमा मालवाहक ट्रक बिग्रँदा घण्टौँ सवारी जाम भयो। ट्रक हटाउन सरकारी हेभी–ड्युटी क्रेन नहुँदा अन्य थुप्रै सवारी तथा यात्रुहरूले दिनभर सास्ती खेपे। 

केही दिनअघि फेरि त्यस्तै घटना दोहोरियो। पृथ्वी राजमार्गमै एउटा बोलेरोबिच सडकमा बिग्रियो। सरकारी हेभी–ड्युटी क्रेन, रिकभरी ट्रक वा आधुनिक उद्धार उपकरण नहुँदा सानो सवारी भए पनि हटाउन घण्टौँ लाग्यो। 

यी दुई घटना पृथ्वी राजमार्गका प्रतिनिधि उदाहरण मात्रै हुन्। यो राजमार्गमा सवारी बिग्रिएपछि लामो जाम लाग्ने, यात्रु अलपत्र पर्ने र आकस्मिक सेवा प्रभावित हुने समस्या नियमितजस्तै बनेको छ।

एमालेले धक्का खाएको छ, सदन र सडकबाट संघर्ष आवश्यक : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीले धक्का खाएको उल्लेख गर्दै सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले सडक संघर्षमा पनि कार्यकर्ताको मनोबल खस्किएको बताए।

‘सडक संघर्षको मोर्चातिर पनि मनोबल अलिक खस्किएको अवस्था छ। हामीले धक्का खाएका छौँ। धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द भएर बढेको हुँदैन,’ उनले भने।

प्रहरीको गोली लागेर टेकुमा एक भारतीय घाइते

काठमाडौंको टेकुमा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। पक्राउको क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो। 

घाइते हुनेमा भारतको रुपडिया घर भएका २५ वर्षिय राज सोनी छन्। उनको खुट्टामा दुई राउन्ड गोली लागेको छ। उनीसहित नेपालगञ्जका निखिल सोनी तथा सुर्खेतका सोफिया मगरलाई प्रहरील पक्राउ गरेको छ। उनीहरुबाट २४ हजा सात सय वटा लागुऔषध टपेन्डडोल बरामद भएको ब्यूरोले जनाएको छ। 

सिप सिकेर विदेश जाने नेपाली श्रमिकको संख्या बढ्दो

पछिल्लो समय वैदेशिक रोजगारीमा जानुअघि सिप सिक्ने नेपाली श्रमिकको संख्या बढ्दै गएको छ। दक्ष जनशक्तिको माग बढेसँगै सिपयुक्त श्रमिक बिदेसिने क्रम उल्लेख्य बनेको हो।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा विभिन्न देशमा रोजगारीका लागि जानेमध्ये सबैभन्दा ठुलो संख्या दक्ष श्रमिकको रहेको छ। गत आवमा ४ लाख ८२ हजार ६४३ जना दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सो अवधिमा १ लाख ९० हजार २६४ जना अदक्ष श्रमिक र १ लाख १४ हजार ६१४ जना अर्धदक्ष श्रमिक बिदेसिएका छन्।

लोकतन्त्र, समावेशिता र नागरिक अधिकारबाहेकका विषयमा संविधान संशोधन गर्न कांग्रेस तयार : सभापति थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लेकतन्त्र, समावेशिता र नागरिकले प्राप्त गरेका अधिकारबाहेकका विषयमा संविधान संशोधन गर्न कांग्रेस तयार रहेको बताएका छन्।

जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आइतबार पोखरामा आयोजना गरेको संविधान संशोधन सुझाव विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको कुरामा कहीँ कतै चलाउने चल्ने कुरामा, हाल रहेको समावेशिता बढाउने मुद्दा, तर घटाउने कुरामा हैन र नागरिकले प्राप्त गरेका अधिकार बढाउने तर कटौती गर्नेबाहेकका विषयमा संविधान संशोधन गर्न नेपाली कांग्रेस तयार रहेको बताएका हुन्।

आयल निगमको कार्यकारी निर्देशक छनाेटका लागि यही हप्ता अन्तर्वार्ता, लगत्तै नियुक्ति

नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसैसाता अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको कार्यतालिका अघि बढाउने भएको छ। मन्त्रालयका अनुसार सम्भवतः भोलि सोमबार पदपूर्ति समितिको बैठक बसेर कार्यतालिका बन्नेछ।

मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनाेटको प्रक्रिया सँगसँगै अघि बढाउन लागेको छ। मन्त्रालय स्रोतको अनुसार सुरुमा खाद्य कम्पनीको सिइओ छनाेट प्रक्रिया सक्ने र त्यसपछि आयल निगमको कार्यकारी निर्देशक छनाेट प्रक्रिया अघि बढाउने योजना छ।

निर्माणमा गति लिन नसकेको फास्ट ट्रयाकलाई यस वर्ष १७ अर्ब ६४ करोड बजेट

०८१ पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) थपेको म्यादसमेत डेढ वर्ष बितिसक्दा पनि ४८ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

म्याद थपिएको ८३ चैतसम्म पनि निर्माण नसकिने निश्चित भएपछि अरू दुई वर्ष अर्थात् ०८५ चैतसम्म म्याद थपका लागि सेनाले प्रस्ताव गरेको छ । तर, नौ वर्षमा ४८.१२ प्रतिशत मात्रै काम गरेको सेनाले ३३ महिनामै बाँकी ५१.८८ प्रतिशत सक्ने दाबी विश्वसनीय भने देखिँदैन ।

तुलसीपुर उपमहानगरपालिकाले दियो सवारी जलेका कर्मचारीलाई २५ हजार

दाङ तुलसीपुर उपमहानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा सवारीसाधन जलेका कर्मचारीहरूलाई राहत प्रदान गरेको छ ।

गएको वर्ष भदौ  २४ गते भएको आन्दोलनका क्रममा कार्यालयमा भएको आगलागीबाट अन्डरग्राउन्ड पार्किङमा सवारीसाधनहरू पार्क गरिएको अवस्थामा भएको उक्त आगलागीमा कर्मचारीका निजी मोटरसाइकल र स्कुटरहरू जलेर नष्ट भएका थिए  ।

सुझावित समाचार