पोखरा बजारको बिच भाग भएर बहने सेती नदी थुनिएको चार दिनपछि कास्कीका प्रमुख जिल्ला अधिकारीसहितको टोली नदी क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेको छ। सेती थुनिएको समाचार र फोटो भिडियो सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आउन सुरु गरेपछि मात्र प्रशासनको टोली आइतबार निरीक्षणमा गएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट चार किलोमिटरको दूरीमा रहेको उक्त स्थानको निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय, पोखरा महानगरपालिका र सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिसहित निरीक्षणका लागि पुगेका हुन्।
पोखरा महानगरपालिका– १५ र १७ को सीमानामा पर्ने रातोपैरो क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिब ३५/४० मिटर माथिबाट पानी बगिरहेको छ। पहिरो खसेको स्थानबाट थोरै-थोरै माटो खस्ने र पानी थुनिने क्रम चार–पाँच दिनदेखि जारी रहेको स्थानीयहरू बताउँछन्। सामाजिक सञ्जालमा छाएपछि मात्रै प्रशासन निरीक्षणमा निस्किएको भन्दै एक स्थानीयले असन्तुष्टि जनाए। क्षति हुनुअघि नै सतर्कता नअपनाएकामा उनले आपत्ति जनाए।
घटनास्थलको निरीक्षण एवं अवलोकनपछि प्रजिअ गुरुङले पानी थुनिएको विषय र जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययन गरी प्रतिवेदनअनुसार अघि बढ्ने बताए। विज्ञसहित सुरक्षा निकाय र सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्ने भनाइ उनको छ।
लगातारको वर्षाका कारण आएको पहिरो र बाढीले बगाएर ल्याएका बोटबिरुवाले पहिरो खसेको स्थानमा रहेका ढिस्काका प्वालहरू टालेपछि नदी थुनिएको स्थानीयहरू बताउँछन्। सेतीको आधा पानी पुरानै सतहबाट बगेको छ भने आधा पानी करिब ३५/४० मिटरमाथिबाट झरनाजस्तै गरी बगिरहेको छ।
पोखरा–१० स्थित रामघाटबाट भूमिगत, खोँच, अर्ध–भूमिगत हुँदै करिब सात किलोमिटरको दूरी पार गर्दै रातोपैरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुला क्षेत्रमा निस्कने स्थानमा पानी रोकिएपछि रामघाटमा समेत सेतीको सतह बढेको छ।
विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न सुरक्षा समितिको निर्देशन
घटनास्थलको स्थलगत अवलोकनपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विस्तृत अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई समन्वयात्मक रूपमा कार्य सम्पादन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
नदीमा पहिरो खस्दा तत्काल परेको प्रभाव, जोखिम क्षेत्रको पहिचान, पहिरोबाट पर्ने दीर्घकालीन प्रभाव, तत्काल र दिर्घकालीन रोकथामका उपाय, भविष्यमा गर्नुपर्ने कार्यहरूसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।